बस दुर्घटनामा १४ को मृत्यु

काठमाण्डु टुडे २०७० माघ २३ गते १:०७ मा प्रकाशित

पाल्पा, २३ माघ– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चिदीपानीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।
दुर्घटनामा अरु ८ जना घाइते भएका छन् । घाइतेको मिशन अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पाल्पा प्रहरीका अनुसार १२ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारीअनुसार  मृतकमध्ये गाडी धनी बागलुङ बुर्तीवाङका मोहन केसी, चालक पाल्पा मुझुङका रामबहादुर रानामगर, कास्की भरतपोखरी–१ का वुद्धिबहादुर विक, गुल्मी सिमिचौर–६ का दिलबहादुर बस्नेत, रुकुम मोरवाङ– ९ का राजबहादुर गुरुङ, पर्वत ठुलिपोखरीका बाबुराम आचार्य, मोरङ विराटनगरका गोपाल ढकाल र बर्दिया मगरागढी–९ का विराटसिंह ठकुरीको मात्र सनाखत भएको छ ।

पोखराबाट बुटवलका लागि छुटेको लु १ ख ४९२४ नम्बरको बस चिदीपानी–२ भालुखोलामा गएराति दुई बसेको समयमा सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको पाल्पा प्रहरीले जनाएको छ   ।

घटनास्थलमा प्रंहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धारकार्य जारी राखेका छन् । दुर्घटनाको कारण खुलेको छैन । यद्यपि बस विपरित दिशाबाट खसेकाले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us