‘नेकपा–माओवादीसँग एकता सम्भव छैन’

काठमाण्डु टुडे २०७० माघ २२ गते १०:०९ मा प्रकाशित

Post bogatiनुवाकोट, २२ माघ– एकीकृत नेकपा (माओवादी)का नेता पोष्टबहादुर बोगटीले तत्काल नेकपा–माओवादीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

नुवाकोटको विदुरमा क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटमा एमाओवादीका पूर्व महासचिवसमेत रहेका बोगटीले यस्तो बताएका हुन् ।

बोगटीले पार्टीको हेटाँैडा महाधिवेशनले तय गरेका एजेन्डालाई परिमार्जन गरेर अघि बढ्नु आवश्यक रहेपनि नेकपा–माओवादीले भनेजस्तो हेटौंडा महाधिवेशनको कार्यदिशालाई परिवर्तन गर्न नसकिने बताए ।

‘नेकपा–माओवादीका नेताहरु जडसुत्रवादमा फस्दै हुनुहुन्छ, जनवादी र समाजवादी क्रान्तिमा आए एकता हुनसक्छ,’ बोगटीले भने, ‘तर, उहाँहरुसँगको एकता अहिलेलाई हुने कुनै छाँट छैन ।’

संविधान निर्माणको नाममा जनताले चाहेको परिवर्तनलाई असर पुग्ने गरी संविधान निर्माणमा आफ्नो पार्टीको भूमिका नरहने बताउँदै नेता बोगटीले आफ्नो पार्टी सरकारमा नगएपनि संविधानसभामा भने पार्टीका एजेण्डालाई प्रमुखताका साथ अघि सार्ने बताए ।

एक वर्षभित्र नयाँ संविधान बनाउन सबै राजनीतिक दलको प्रतिष्ठाको विषय भएको भन्दै बोगटीले संविधान निर्माणमा सहमति, वार्ता र छलफलको माध्यमबाट राजनीतिक दलहरु अघि बढ्नुको विकल्प नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us