सीमा क्षेत्रको अराजक गतिविधि नियन्त्रण गर्न प्रहरीको गस्ती

काठमाण्डु टुडे २०७० माघ २२ गते ८:२० मा प्रकाशित

दार्चुला, २२ माघ–सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाले सीमा सुरक्षार्थ सीमा गस्ती सुरु गरेको छ । सीमा क्षेत्रमा हुने अराजक गतिविधि र चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले गस्ती सुरु गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर सिंहले बताए ।
जिल्ला सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म स्थापना भएपछि पहिलो पटक सीमावर्ती धाप, दत्तु र उकू गाविसमा गस्ती गरिएको समेत उनले जानकारी दिए ।
सीमा क्षेत्रमा हुने अराजक गतिविधिलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी अहोरात्र खटिने प्रनाउ सिंहको भनाइ छ । यसका साथै त्रिदेशीय सीमा नाका व्यासको तिङ्करमा अबको दुई महिनाभित्रै सुरक्षा प्रदान गर्ने र सीमा स्तम्भहरु अद्यावधिक गर्ने योजना रहेको समेत उनले जानकारी दिए ।
गत असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार यही माघ ७ गते सदरमुकाम खलङ्गाको गल्फैमा निजी जमिनमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको स्थापना गरिएको हो । सदरमुकाममा सरकारी जमिन अभाव भएकाले निजी जमिन भाडामा लिई गुल्म स्थापना गरिएको हो ।
कुल १६० जनाको दरबन्दी रहेको सो गुल्ममा अहिले १०६ जना सशस्त्र प्रहरी रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us