एनसीसी बैंक सञ्चालक समिति राष्ट्र बैंकको नियन्त्रणमा

काठमाण्डु टुडे २०७० माघ २१ गते १३:२७ मा प्रकाशित

ncc-bank-logoकाठमाण्डु, २१ माघ – नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक सञ्चालक समिति निलम्बन गरी व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ ।

मंगलबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले एनसीसी बैंक सञ्चालक समिति निलम्बन गर्ने निर्णय गरेको हो ।

पटक पटक सुध्रिन मौका दिए पनि सन्तोषजनक उपलब्धि नभएको भन्दै केन्द्रीय बैंकले एनसीसी बैंक सञ्चालक समिति आफ्नो हातमा लिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको संयोजकत्वमा तीन सदस्सीय टोलीलाई एनसीसी बैंक सुधार गर्न जिम्मेवारी दिएको छ ।

टोलीमा उपनिर्देशक रमेश आचार्य र कानुन विभागका सहायक निर्देशक रमेश रेग्मी सदस्य छन् । टोलीले ६ महिनाभित्र साधारण सभा गर्ने जिम्मेवारी दिइएको छ । बैंकमा कर्जा लगायतका अन्य समस्या रहेको जनाइएको छ ।

राष्ट्र बैंकले एनसीसी बैंकको वित्तीय अवस्था भने खराब नभएकाले बचतकर्तालाई नआत्तिन पनि आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us