पाँच लघु जलविद्युत् परियोजना बन्द

काठमाण्डु टुडे २०७० माघ २१ गते ७:१९ मा प्रकाशित

चौतारा, २१ माघ–सिन्धुपाल्चोकमा सञ्चालित नौ  लघुजल विद्युत् परियोजनामध्ये गत वर्षदेखि पाँच परियोजना बन्द भएका छन् ।  नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन नपुगेका दुर्गम गाउँका लागि ती परियोजना बरदान साबित हुँदै आएकामा गत वर्षदेखि विद्युत्को प्रसारण लाइन जोडिएपछि पूर्णरुपमा बन्द भएका हुन् । वर्षांैदेखि परियोजना बन्द हुनामा राजनीतिक खिचातानी, लगानीको अभाव र जनसङ्ख्या वृद्धि भई उत्पादित विद्युत् क्षमताले नभ्याउनु मुख्य कारण रहेको बताइएको छ ।
जिविस जिल्ला ऊर्जा तथा वातावरण एकाइको पहलमा २०५५ सालदेखि परियोजनाबाट दुर्गम गाउँका बासिन्दाले विद्युत् सुविधा प्राप्त गर्दै आएका थिए । बन्द भएका परियोजनामा २७ किवा(किलोवाट)को हाँडीखोला प्रथम, २६ र २० किवाको हाँडीखोला दोस्रो र तेस्रो, २० किवाको झ्याडीखोला, नौ किवाको घट्टेखोला र ०.२ किवाको पिको हाइड्रो परियोजना छन् । ती परियोजनाबाट घाङ्पालधाप गाविसका २००, थाङपालकोट गाविसका ४८४, कुन्चोक गाविसका १३५, चोकटी गाविसका १५१ र जलवीरे गाविसको चार घरसहित ९७६ घरपरिवारले विद्युत् सुविधा उपभोग गरिरहेका थिए । यसका साथै ती गाविसमा विभिन्न कुटिर उद्योगसमेत सञ्चालन हँुदै आएका थिए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी, नेपाल सरकार, विश्व बैंक, जिविस, गाविस, स्थानीय जनसहभागिताका साथै समूहबाट सङ्कलित नगदसहित करिब रु एक करोड ५० लाखमा ती परियोजना बन्द भएपछि लगानी र जनश्रम खेर गएको छ । लगानी खेर गए पनि त्यहाँ प्रयोग हँुदै आएका विद्युत् खम्बा र तार भने पुनः प्रयोगमा ल्याइएको जिल्ला ऊर्जा तथा वातावरण एकाइ कार्यालयका सहायक राजेन्द्र दुलालले बताए ।
जिल्लाको दुर्गम गाविसमा चार  परियोजना भने अझै सञ्चालनमा छन् । गुन्सा गाविसमा हाँडीखोलाबाट उत्पादित २७ किवा र भोताङ गाविसम उत्पादित ४० किवा विद्युत्बाट दुई गाविसका सम्पूर्ण वडामा बत्ती बालिएको सो कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us