गोरखामा सुन्तलाका बोट मर्न थाले

काठमाण्डु टुडे २०७० माघ २१ गते ४:१२ मा प्रकाशित

Orangeगोरखा, २१ माघ – सुन्तलाका बोट मर्न थालेपछि गोरखाका किसान चिन्तित हुन लागेका छन् । देशैभरि सुन्तलाका लागि ख्याति कमाएको गोरखामा पछिल्ला वर्षहरुमा सुन्तलाको उत्पादन घट्दै गएको छ ।

सुन्तलाको बिरुवाको टुप्पो सुक्दै जाने र जरा कुहिनेजस्ता रोगका कारण सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादनमा कमी आएको हो । घरघरमा लगाइएका सुन्ताका बोटमध्ये हरेक वर्ष ५/७ वटाका दरले बोट सुक्ने र भएका बोटमा पनि ‘स–साना’ दाना लागेपछि किसान चिन्तित भएका हुन् ।

ताङ्लीचोकका हरिलाल पन्तको बारीमा उत्पादन दिँदै आएको ३५० वटा सुन्तलाका बोटमध्ये यो वर्ष ३० भन्दा बढी बोटमा ‘स–साना’ दाना लाग्यो । गत वर्ष ५÷६ बोटमा त्यस्तै फल लागेको र यो वर्ष ती बोट सुकेको कृषक पन्त बताउँछन् ।

विगतका वर्षहरुमा बोट राम्रो हुँदा चार लाखसम्मको व्यापार गरेका पन्तले गत वर्ष जम्मा ८० हजारको सुन्तलामात्रै बेचे । यो वर्ष त झन व्यापार घटेर १६ हजारमा झरेको पन्तले बताए ।

यस्तै समस्या ताक्लुङ गाविसका यामबहादुर थापाको पनि छ । थापाको पनि विगत केही वर्षदेखि त्यसरी नै सुन्तलाका १०÷१२ बोट क्रमशः वार्षिक रुपमा सुक्दै जान थालेका छन् ।

सुन्तलाका बोट मरेपछि काटेर दाउरा बाल्नुपरेको तीतो यथार्थ थापाले सुनाए । सुन्तला उत्पादनमा बर्सेनि कमी हुँदै आएको जिल्ला कृषि विकास कार्यालय गोरखाका कृषि प्राविधिक प्रकाश बस्ताकोटी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us