
जुम्ला, २१ माघ – जुम्लाको इलाका नं ४ का चारैजना गाविस सचिव अनुपस्थित भएपछि योजना तर्जुमा गोष्ठी स्थगित भएको छ ।
हाँकु, तातोपानी, लाम्रा र ताम्ती गाविस सम्मिलित इलाका नं ४ को इलाका परिषद्मा चारै गाविसका स्थानीय प्रतिनिधिको उपस्थिति भए पनि कुनै पनि गाविसका सचिवहरु उपस्थित नभएको भन्दै परिषद् स्थगित गरिएको स्थानीय कृष्णबहादुर बुढाले जानकारी दिए ।
परिषद् बैठकमा आधिकारिक रुपमा सचिव नै उपस्थित हुनुपर्ने भन्दै स्थानीयवासीले आक्रोशमा परिषद्को ब्यानर च्यातिदिएका थिए । त्यसका साथै उनीहरुले विगतका वर्षको परिषद्मा पनि न्यायोचित रुपमा योजना बाँडफाँड नभएको आरोप लगाएका छन् ।
जुम्लाका स्थानीय विकास अधिकारी अर्जुनकुमार थापा पनि महिनौँदेखि जिविस कार्यालयमा उपस्थित छैनन् । सो इलाकाका स्थानीय जनताले इलाका परिषद्जस्तो जनताको कर्मरेखा तयार गर्ने महोत्सवमा अनुपस्थित हुने सचिवमाथि कडा कारबाही गर्न माग गरेका छन् ।