सरकारले जैविक विविधता रणनीति ल्याउँदै

काठमाण्डु टुडे २०७० माघ २१ गते १:१४ मा प्रकाशित

singh durbarकाठमाण्डु, २१ माघ – सरकारले जैविक विविधता रणनीति तथा कार्ययोजना बनाउने भएको छ ।

जैविक विविधताको संरक्षण तथा दिगो सदुपयोगमार्फत जनताको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले जैविक विविधता रणनीति लागू गर्न लागेको वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कार्ययोजना सहितको सो रणनीति आगामी १५ वर्षका लागि ल्याउन लागिएको हो ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जैविक विविधताको संरक्षण गरी जनताको जीविकोपार्जनमा सहयोग गर्ने तथा प्राप्त लाभको न्यायोचित वितरण गर्नेगरी कार्ययोजना सहितको सो रणनीति बनाउन लागिएको बताए ।

उनले हाल रणनीतिको मस्यौदा पुनरावलोकन गर्न विज्ञहरुकहाँ पठाइएको जानकारी दिए । विज्ञबाट आउने सुझावलाई समेटेर रणनीतिको मस्यौदालाई अन्तिम रुप दिइनेछ । मन्त्रालयका अनुसार नेपालमा हाल ११८ प्रकारका पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) रहेका छन् ।

मन्त्रालयले सो रणनीति तथा कार्ययोजनाको मस्यौदा तयार पार्ने जिम्मेवारी काठमाण्डु फरेष्ट्री कलेजलाई दिएको थियो । कलेजले रणनीति र कार्ययोजनासहितको मस्यौदा मन्त्रालयमा बुझाइसकेको छ ।

उनका अनुसार कार्ययोजना सहितको सो रणनीति बनाउन विश्व वातावरणीय सहजीकरण (जिइएफ) नामक संस्थाले २० लाख सहयोग प्रदान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us