पेट्रोलियम पदार्थ बिक्री बढ्यो

काठमाण्डु टुडे २०७० माघ २० गते ११:०० मा प्रकाशित

Petrol Tankविराटनगर, २० माघ – गत वर्षको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा पूर्वाञ्चल क्षेत्रमा पेट्रोलियम पदार्थको बिक्री वितरण अत्यधिक भएको छ ।

नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार चालु आवको छ महिनामा पेट्रोल एक करोड ४१ लाख ९९ हजार लिटर, डिजल चार करोड ५५ लाख ४३ हजार लिटर, मट्टितेल ११ लाख ५१ हजार तथा एलपीजी ग्यास १६ हजार ६६ मेट्रिक टन बिक्री भएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार गत आव २०६९÷७० को छ महिनामा पेट्रोल एक करोड २६ लाख ५२ हजार लिटर, डिजल चार करोड १५ लाख ७१ हजार लिटर, मट्टितेल १४ लाख ८६ हजार तथा एलपिजी ग्यास १३ हजार ५९० मेट्रिक टन बिक्री वितरण भएको थियो ।

त्यस्तै विगतको तुलनामा छ महिनामा पेट्रोलियम पदार्थको आयातमा पनि वृद्धि भएको एक तथ्याङ्कले जनाएको छ ।

पूर्वाञ्चलको १६ जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने सो कार्यालयले भारतबाट पेट्रोल एक करोड ४३ लाख ८४ हजार लिटर, डिजल चार करोड ७५ लाख ४४ हजार लिटर, मट्टितेल ११ लाख ४१ हजार ८०० लिटर, एलपिजी ग्यास १६ हजार ०६६ मेट्रिक टन आयात गरेको छ ।

यसअघि गत आवको छ महिनामा पेट्रोल एक करोड २९ लाख ९२ हजार, डिजल चार करोड ३३ लाख ८८ हजार लिटर, मट्टितेल १८ लाख ३७ हजार लिटर तथा एलपिजी ग्यास १३ हजार ५९० मेट्रिक टन ग्यास आयात भएको थियो ।

कार्यालय प्रमुख जगन्नाथ घिमिरेका अनुसार भारतबाट २५० ट्याङ्करमार्फत पेट्रोलियम पदार्थको ढुवानी गरी पूर्वाञ्चलका ४५८ पम्प तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीलाई सरल एवम् सहजरूपमा बिक्री वितरण भइरहेको छ ।

लामो समयदेखि भण्डारणको अभाव रहेको सो पूर्वाञ्चल डिपोमा ४० लाख लिटर डिजेल मौज्दात जम्मा रहेको कार्यालयबाट थाहा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us