घरेलु उद्योगको प्रवर्द्धनका लागि कोसेलीगृह

काठमाण्डु टुडे २०७० माघ २० गते १०:५३ मा प्रकाशित

सुर्खेत, २० माघ – जिल्लामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरू एकै ठाउँबाट बिक्री गर्नका लागि सुर्खेतको वीरेन्द्रनगरमा कोसेलीगृह पुनः सञ्चालनमा आउने भएको छ ।

घरेलु तथा साना उद्योग विकास सहकारी संस्थामार्फत दुई वर्ष अगाडि सञ्चालन भई केही समयमै बन्द भएको कोसेलीगृह पुनः सञ्चालन गर्न लागिएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघमार्फत गठन भएको सहकारी संस्था र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला समितिद्वारा गठन भएका घरेलु तथा साना उद्योग विकास सहकारी संस्थाहरूबीच कुरा नमिलेपछि कोसेलीगृह बन्द भएको थियो ।

यसपटक भने दुईवटै सहकारी समायोजन गरी कोसेलीगृह सञ्चालन गर्न लागिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष चन्द्रबहादुर विसीले जानकारी दिए ।
महासंघमार्फत गठन भएको सहकारीको कार्यक्षेत्र जिल्लाभर रहेकाले नगरपालिकामा कार्यक्षेत्र भएको उद्योग वाणिज्य संघले गठन गरेको सहकारीलाई समायोजन गरी नाम घरेलु तथा साना उद्योग विकास सहकारी राखिने निर्णय भइसकेको अध्यक्ष विसीले बताए ।

कोसेलीगृह संयुक्तरूपमा सञ्चालन हुने भएपछि घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयले सुर्खेत उद्योग वाणिज्य संघसँगै रहेको भवन उपलब्ध गराउने भएको छ । साथै कोसेलीगृहका लागि समितिले एक लाख अनुदान दिएको छ ।

कोसेलीगृह सञ्चालनले लघु घरेलु उद्योगबाट उत्पादित वस्तुको सहज बिक्री वितरण गर्नाका साथै जिल्ला बाहिर तथा विदेशमा समेत चिनाउन सकिने अध्यक्ष विसीको भनाइ छ । दुई वर्षअघि सञ्चालनमा ल्याइएको कोसेलीगृहको भवन अभाव र पर्याप्त बजेटको अभावले पनि बन्द गर्नुपरेको विसीले बताए ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले पनि उद्यमीको चाहनाअनुसार सुर्खेतलाई नमुना औद्योगिक जिल्ला बनाउन सहयोग होस् भनी कोसेलीगृह सञ्चालन गर्न लागेको बताए ।

कोसेलीगृह सञ्चालनका लागि सबै प्रक्रिया पूरा भइसकेको भन्दै शाहीले अबको एक÷दुई महिनामै सञ्चालन हुने जानकारी दिए । उद्योग प्रवद्र्धन तथा सम्बद्र्धन गर्ने स्वामित्व पाएको स्थानीय विकास अधिकारीको अध्यक्षतामा रहेको जिल्ला उद्यमी प्रबद्र्धन बोर्डले पनि कोसेलीगृह सञ्चालनमा चासो देखाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us