माइत बसेको निहुँमा आफ्नै छोरीको हत्या

काठमाण्डु टुडे २०७० माघ २० गते ७:१५ मा प्रकाशित

परासी, २० माघ – नवलपरासीको बेनीमणिपुर गाविस–२ ढुडेमा आफ्नै बाबुले छोरीको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । उनानसठ्ठी वर्षका कृष्ण सापकोटाले ३५ वर्षीया छोरी लक्ष्मीसिंह ठकुरीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो ।

छोरी लक्ष्मी दुई दिनदेखि गाउँमा नदेखिएपछि गाउँलेले प्रहरीमा उजुरी दिएका र उजुरीपछि उनलाई खोज्ने क्रममा उनका बाबुले नै हत्या गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

करिब नौ महिनादेखि माइतीमै बस्दै आएकी छोरी र बुबाबीच घर नगई माइतमा बसेको भन्ने विषयमा पटकपटक विवाद हुने गरेको छिमेकीहरुले बताएका छन् ।

गत माघ १६ गतेपछि सोही विषयमा विवाद हुँदा दुईबीच कुटाकुट भएको र सोही क्रममा बाबुले छोरीको हत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिए ।

बुबाले छोरीको हत्या गरी घर नजिकै खाडल खनेर पुरेको समेत खुल्न आएको छ । सापकोटाले झगडा हुने क्रममा पिट्दा घरको धुरीखाँबोमा ठोक्किएर छोरीको मृत्यु भएको र मृत्युपछि आफैँले जमिनमुनि गाडेको प्रहरीसामु बयान दिएका अधिकारीले बताए ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीमा राखिएको छ  । पुरिएको स्थानबाट शव निकाल्न र आवश्यक अनुसन्धान थाल्न इलाका प्रहरी कार्यालय कावासोती र दुम्किवासको टोली घटनास्थल पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us