विराट महोत्सवमा १५ करोडको कारोबार

काठमाण्डु टुडे २०७० माघ २० गते ५:२८ मा प्रकाशित

विराटनगर, २० माघ – विराटनगरमा एक सातासम्म लागेको विराट महोत्सव तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा रु १५ करोडभन्दा बढीको कारोबार भएको छ ।

महोत्सव समापनका अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहराले महोत्सवमा एक लाख ७० हजार दर्शकले अवलोकन गरेको जानकारी दिए ।

अध्यक्ष बोहराले विराटनगरमा औद्योगिक प्रदर्शनी केन्द्रको आवश्यकता रहेका बताउँदै अन्तर्राष्ट्रिय मेलामा नेपाली कृषिजन्य वस्तुको स्टल राख्नुपर्ने धारणा राखे ।

विराट महोत्सवमा सबैभन्दा बढी सवारी साधन, सूचना प्रविधि र घरायसी प्रयोजनका सामग्रीको कारोबार भएको आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्योग वाणिज्य महासंघअन्तर्गत हुने मेलामध्ये विराटनगरमा सबैभन्दा उत्कृष्ट मेला सञ्चालन भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा मेलामा सहयोग पुर्याउने विभिन्न व्यक्ति, व्यापारी, बुद्धिजीवी, पत्रकारलगायतलाई प्रमाणपत्र वितरण गरिएको थियो । माघ ११ गतेदेखि सुरु भएको सो महोत्सव शनिबार समापन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us