‘कांग्रेसले बहुमतीय सरकार गठन गर्ने’

काठमाण्डु टुडे २०७० माघ १९ गते १७:३७ मा प्रकाशित

संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले बहुमतीय सरकार गठनका लागि अघि बढ्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।

३० दलको प्रतिनिधित्व रहेको संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दोस्रो ठूलो दल नेकपा एमालेसँग बहुमतीय सरकारका लागि वार्ता थाल्ने जनाएको छ।

नेकपा एमालेले सम्मानजनक बाँडफाँडको स्थितिमा सरकारमा सहभागी हुने बताउँदै आएको छ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक हप्ते समयसीमा आइतबार सकिएको छ।

बहुमतीय

राष्ट्रपतिले दिएको म्यादको समाप्तिसँगै बहुमतीय सरकार गठनका लागि गणितीय जोडघटाउ शुरु भएको हो।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा एमालेसँग सत्ता समीकरणबारे गम्भीर वार्ता गर्ने बताए।

उनले भने, ‘’मन्त्रीपरिषद् गठन, सभामुख तथा उपसभामुख लगायतका विषयमा नेकपा एमालेसँग हामीले घनीभूत छलफल गर्नेछौं।‘’

नेकपा एमालेका नेताहरुले भने सम्मानजनक ढंगले बाँडफाँड भए मात्र कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताउँदै आएका छन्।

एक वर्षका लागि राष्ट्रपतिको निर्वाचन नगर्ने भए गृह, अर्थ र स्थानीय विकास जस्ता महत्वपूर्ण मन्त्रालय आफूले पाउनुपर्ने एमालेको माग रहेको बताइन्छ।

विकल्प

कांग्रेस उपसभापति पौडेलले आफूहरुले एमाले बाहेकको विकल्पबारे सोचिनसकेको र एमालेसँग नै सहमति हुने बताए।

उनले भने, ‘’एमालेप्रति अविश्वास गरेर विकल्प खोज्ने सोचमा हामी छैनौं, कांग्रेस र एमाले मिलेर जानेमा हामी विश्वस्त छौं।‘’

सहमतीय सरकार गठनको प्रयासमा विफल भईसकेको कांग्रेसका कतिपय नेताहरुले बहुमतीय सरकारमा सत्ता साझेदारीका लागि लचिलो हुन सक्ने बताउँदै आएका छन्।

तर लचकताको नाममा सबै शर्त स्वीकार गर्न नसकिने नेता प्रकाशशरण महतले बताए।

उनले भने, ‘’हाम्रो नेतृत्व पंक्ति लचक होला नै तर लचकताको नाममा सरकारको नेतृत्व पाएर निमित्त हुँदैनौं।‘’

बहुमतीय सरकार गठनका लागि प्रक्रिया शुरु गर्न राष्ट्रपति कार्यालयले सोमबार संसद सचिवालयलाई पत्राचार गर्ने बुझिएको छ।

सरकारमा नजाने केही दलहरुले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने बताए पनि बहुमतीय प्रक्रियामा गएपछि उनीहरुको समर्थन रहने वा नरहने स्पष्ट भईसकेको छैन्। BBC Nepali service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us