मकैको बीउमा प्रतिकिलो ६६ रुपैयाँसम्म अनुदान

काठमाण्डु टुडे २०७० माघ १९ गते ११:०१ मा प्रकाशित

चितवन, १९ माघ– कृषकलाई मकैखेतीमा आकर्षित गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय चितवनले बीउमा अनुदान दिन सुुरु गरेको छ ।

बीउमा बढीमा प्रतिकिलो रु ६६ सम्म अनुदान दिएर मकैखेती थप गर्न लागिएको कृषि विकास कार्यालयले जनाएको छ । उनीहरूले ३३ प्रतिशत स्वतः अनुदान पाउने र मूल्य बढेमा प्रतिकिलो रु ६६ सम्म पाउने बताइएको छ । अहिले एक हजार हेक्टर क्षेत्रफलमा मकैखेती विस्तार गर्न अनुदान कार्यक्रम लागू गरिएको हो ।

सो कार्यालयले जिल्लामा एक हजार हेक्टर क्षेत्रफलमा थप मकैखेती गर्ने योजनासहित विस्तार कार्यक्रम लागू गरेको हो । कार्यालयका बाली विकास अधिकृत राजन ढकालले अहिले मकैको बीउ वितरणको काम जारी रहेको बताए ।

हाल चितवनमा यो समयमा नौ हजार हेक्टरमा मकैखेती हुँदै आएको छ । एक हजार क्षेत्र विस्तारसँगै यो वर्षबाट १० हजार हेक्टरमा मकैखेती हुने छ । मकैखेती विस्तारका लागि कृषि मन्त्रालयअन्तर्गत बाली विकास निर्देशनालयबाट करिब रु १६ लाख बजेट जिल्लामा आएको छ ।

अहिले मकैखेतीका लागि उन्नत बीउ दिन संस्था वा कम्पनी या बीज वृद्धि समूहलाई भनिएको र जसले कम रुपैयाँमा बीउ दिनसक्छ उसैको मकै कृषकलाई सिफारिस गर्ने ढकालले बताए ।

यस पटकको मकैखेती विस्तारमा कम्तिमा पनि प्रतिहेक्टर तीन मेट्रिक टनभन्दा बढी मकै फल्ने अनुमान कृषि कार्यालयको छ । चितवनको रामपुरमा उन्नत र हाइब्रिड मकै उत्पादन हुँदै आएको छ । अहिलेसम्म नेपालमा २२ जातका उन्नत र दुई जातका हाइब्रिड मकैको विकास भइसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us