शिक्षण पेसासँगै च्याउखेतीतर्फ शिक्षकहरु

काठमाण्डु टुडे २०७० माघ १८ गते ६:२४ मा प्रकाशित

गोरखा, १८ माघ – गोरखाका शिक्षकहरु यतिबेला शिक्षण पेसासँगै अन्य पेसामा पनि जोडिन थालेका छन् । गोरखा बजारमा व्यावसायिक च्याउखेतीसँगसँगै यससम्बन्धी सीप सिकाउने उद्देश्यले ग्रेट एड एजुकेसनल इन्स्टिच्युटले ‘द ग्रेट याड एग्रो फार्म’को स्थापना गरेको छ ।

च्याउखेतीसम्बन्धी व्यावसायिक सीप सिकाइ आत्मनिर्भर र स्वरोजगार जनशक्ति उत्पादन गर्ने उद्देश्यले गत मङ्सिरबाट सञ्चालित फार्ममा कन्या च्याउ उत्पादन थालिएको हो ।

शिक्षकहरुले आठ जनाको समूह बनाएर भाडामा जग्गा लिई च्याउखेती थालेका हुन् । ट्युसन सेन्टरसँगै कृषि क्षेत्रमा पनि उनीहरुले सीपमूलक काममा हात हालेका छन् । ‘विद्यालयमा कृषिसँग सम्बन्धित विषयहरु पढाउँदा सहजता तथा विद्यार्थीलाई व्यावहारिक सिकाइमा सजिलोका लागि च्याउखेती सुरु गरेका छौँ’, शिक्षक रमेशजङ्ग थापाले भने ।

  शिक्षकहरुले २०/२० हजार उठाएर च्याउखेती थालेका हुन् । केही दिनमा नै उत्पादनलाई बाहिर ल्याउने तयारीमा रहेको उक्त फार्मको उत्पादन पदरमुकामा खपत हुने शिक्षक थापाले बताए ।

एक लाख ८० हजार लगानी गरेर एक वर्षमा नै छ लाख आम्दानी गर्ने उहाँहरुकोे योजना छ । पहिलोपटकमै एक लाख ८० हजार आम्दानी हुने बताइएको छ । शिक्षकहरुको यस योजनामा केही युवाले समेत रोजगारी पाएका छन् ।

सो फार्म हेर्न सदरमुकामलगायत अन्य गाउँहरुबाट दिनहुँ मानिसहरु आउने गर्दछन् । शिक्षकहरुले गरेको च्याउखेती नमुनायोग्य भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक रमेश बस्ताकोटीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us