बैंक पुनःस्थापना नहुँदा कृषक मर्कामा

काठमाण्डु टुडे २०७० माघ १८ गते १:३३ मा प्रकाशित

bankगौशाला, १८ माघ – महोत्तरी जिल्लाको प्रमुख कृषि बजार बलवामा माओवादी द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक अहिलेसम्म पुनःस्थापना नहुँदा सो क्षेत्रका कृषकहरू मर्कामा परेका छन् ।

जिल्लाको मध्यपूर्वी क्षेत्रका १७ वटा गाविसका कृषकलाई सेवा दिने उद्देश्यले बलवामा स्थापित कृषि विकास बैंकको पुनःस्थापना नहुँदा सो क्षेत्रका कृषकहरू मर्कामा परेको स्थानिय बासिन्दा बताउँछन् ।

जिल्लाकै कृषि क्षेत्रको पकेट क्षेत्रको रुपमा प्रख्यात बलवा र सो क्षेत्र वरपरका करिब २० गाविसलाई कार्यक्षेत्र बनाई २०३३ सालमा बलवामा स्थापित कृषि विकास बैंक सुरक्षाको कारण देखाउँदै २०५७ सालमा जिल्ला सदरमुकाम जलेश्वर सारिएकामा हालसम्म सो बैंक त्यहाँ पुनःस्थापना हुन सकेको छैन ।

सशस्त्र द्वन्द्वपछि माओवादी मूलधारको राजनीतिमा आएको सात वर्ष भइसक्दा पनि बैंक पुनस्थापना नहुँदा बलवा शाखाबाट सेवा लिँदै आएका सो क्षेत्रका कृषक सेवाग्राहीहरूलाई समस्या भइरहेको छ ।

बलवा कृषि विकास बैंकबाट त्यस क्षेत्रका मनरा, पडौल, एकडारा, साँढा, वनौटा, सरपल्लो, बदिया वनचौरी, इटहर्वाकट्टी, बसविट्टी, सहसौला, गैंढाभेटपुर, गोनरपुरा, सिसवाकटैया, पोखरभिण्डा, सङ्ग्रामपुर, सोनौलसहित १७ गाविसका हजारौं कृषकले सेवा लिँदै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us