विद्यालयको भौतिक सुधारमा तीस लाख

काठमाण्डु टुडे २०७० माघ १७ गते ४:१९ मा प्रकाशित

कञ्चनपुर, १७ माघ – कञ्चनपुरको दैजी गाउँ विकास समितिको कार्यालयले १८ वटा विद्यालयको भौतिक अवस्थामा सुधार ल्याउनका लागि ३० लाखभन्दा बढी रकम निकासा गरेको छ ।

गाविसअन्तर्गत पर्ने दुई उच्चमाध्यमिकसहित निम्नमाध्यमिक र प्राथमिक विद्यालयको भौतिक अवस्थामा सुधार ल्याउनका लागि रकम उपलब्ध गराएको हो ।

शारदा उच्चमाध्यमिक विद्यालयलाई रु पाँच लाख, बैजनाथ उच्चमाध्यमिक विद्यालयलाई तीन लाख र अन्य सामुदायिक निम्न र प्राथमिक विद्यालयहरुलाई रु ५० हजारदेखि दुई लाखका दरले रु २५ लाख रकम उपलब्ध गराई भौतिक अवस्थामा सुधार ल्याइएको गाविसका सचिव ईश्वरी पाण्डेयले बताए ।

‘विद्यालयहरुलाई प्रदान गरेको रकम विद्यालय भवन निर्माण, फर्निचर निर्माण, शौचालय निर्माण, खानेपानी सुधार, चौर व्यवस्थापन, विद्यालय भवन मर्मत र शैक्षिक सामग्री खरिदका लागि प्रदान गरेका छौँ’, उनले भने ।

विद्यालयको भौतिक सुधारका लागि गाविसले बर्सेनि रकम विनियोजन गर्दै लगेकाले यहाँका विद्यालयहरुको विगतको तुलनामा भौतिक अवस्थामा निकै सुधार आएको उनको भनाई छ ।

बैजनाथ उच्चमाध्यमिक विद्यालयका प्रार्चाय थिरेन्द्रचन्द्र भट्टले गाविसले रकम प्रदान गरेपछि उच्चमाध्यमिकको पढाइ गर्न सम्भव भएको बताए । विगतमा यहाँ उमावि नहँुदा माध्यमिक शिक्षा ग्रहणपछि विद्यार्थीहरुले उच्च शिक्षाका लागि डेरा लिएर महेन्द्रनगर र कैलालीको धनगढीतर्फ लाग्नुपर्ने बाध्यता रहेको थियो’, उनले भने, ‘हाल गाउँमै गाविसको सहयोगमा उच्चशिक्षाका लागि व्यवस्था भएपछि निकै सहज भएको छ ।’

चालु आवको सम्पन्न परिषद्ले समेत विद्यालयको भौतिक सुधारका लागि पाँच लाखभन्दा बढी रकम विनियोजन गरेको सचिव पाण्डेयले बताए ।

‘स्थानीयको आर्थिक अवस्था निकै दयनीय रहेको र शिक्षा कार्यालयबाट समेत सन्तोषजनक तरिकाले विद्यालयको भौतिक सुधारका लागि रकम परिचालन नहुँदा गाविस आफैँले रकम परिचालन गरी विद्यालयको भौतिक सुधारको कार्यलाई निरन्तरता दिँदै आएको छ’–सचिव पाण्डेयले भने । भौतिक सुधारले यहाँका विद्यालयमा अध्ययनरत झन्डै चार हजार विद्यार्थी लाभान्वित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us