दस वर्षसम्म बसपार्कमा लगानी !

काठमाण्डु टुडे २०७० माघ १७ गते ४:०३ मा प्रकाशित

दैलेख, १७ माघ – दैलेख जिल्लामा पछिल्ला दिनहरुमा बाह्रै महिना सवारीसाधानको आवतजावत सुरु भएपछि गाउँघरमा उत्पादन हुने स्थानीय वस्तुहरुले राम्रो बजार पाएका छन् ।
यातायातका साधानको आवतजावत भए पनि यसको राम्रो व्यवस्थापन नभएका कारण सदरमुकाम दैलेख बजारको वातावरण निकै दुर्गन्धित बन्दै गएको छ । व्यवस्थित बसपार्क नभएका कारण जथाभावी रुपमा यातायातका साधनहरु पार्किङ गर्ने, फाहोर फ्याँक्ने लगायतका समस्या सदरमुकाममा धेरै भएको स्थानीयवासी गगनबहादुर मल्लले गुनासो गरे ।
तत्कालीन शाही शासनकालमा गरिएको स्थानीय निकायको चुनावपछि विजयी उम्मेदवारहरुले बजेट विनियोजन गरी निर्माण थालनी गरिएको नारायण नगरपालिका–३, ६ र ७ को केन्द्रविन्दुमा रहेको काँडाचौर बसपार्क लोकतन्त्र स्थापनापछिका विभिन्न समयमा गरिएको लगानीपछि पनि अझै पूर्णरुपमा निर्माण हुन नसकेपछि सञ्चालनमा समेत समस्या भएको हो ।
पोखरीका रुपमा बर्सातको पानी जम्ने र ढुङ्गैढुङ्गाको खाल्डोमा बसपार्क निर्माण गर्नुपर्ने भन्दै १० वर्षअघिदेखि बनाइएको योजनामा करोडौँ रकम खर्च गरिएको भए पनि अझै कामले पूर्णता पाउन सकेको छैन । सदरमुकाम दैलेख बजारमा दैनिक भित्रिने २४ भन्दा बढी सवारीसाधनमध्ये धेरै काँडाचौर बसपार्कमा पुग्दैनन् ।
साँगुरो सडक भएको दैलेखमा बसपार्कले पूर्णता पाएको खण्डमा र एकतर्फी सवारीसाधन सञ्चालन गर्नसकेमा मात्र सदरमुकामको सवारी चाप कम हुने स्थानीय दीपेश क्षेत्रीले बताए । स्थानीयले समेत सडक छेउमै सामानहरु राख्ने गरेका छन् । ‘साँगुरो सडक भएका कारण कतिपय स्थानमा मानिसले हिँड्ने ठाउँसमेत हुँदैन’– क्षेत्रीले भने ।
विगत दुई वर्षअघि नारायण नगरपालिकाले जगेडा कोषअन्तर्गत रु ४६ लाख र उपभोक्ता समितिमार्फत रु ११ लाख ५० हजारको लगानीमा बसपार्कको फिल्ड निर्माण, जाली भर्ने र शौचालयका साथै टिकट घरसमेत निर्माण गरिसकिएको छ ।
जिल्लामा हाल सञ्चालनमा आएका विभिन्न चारवटा समितिमार्फत बस सञ्चालन हुने गरेका छन् । सबै समितिलाई टिकट काट्ने टिकट घरको अभाव भएको छ भने अझै एक करोडभन्दा बढी रकम बसपार्कको पूर्णताका लागि आवश्यक पर्ने नारायण नगरपालिका दैलेखले जानकारी दिएको छ ।

बसपार्कमा निर्माण गरिएको शौचालयमा समेत पानीको अभाव भएपछि सार्वजनिक शौचालय भएको छ । बसपार्क निर्माण भएपछि व्यापार–व्यवसाय राम्रो हुने भो भन्दै घर खरिद गरेर व्यवसाय गर्नेहरुसमेत समस्यामा परेको रामप्रसाद न्यौपानेले जानकारी दिए ।
बर्सातका चार महिना अहिले पनि बसपार्कमा बस पुग्न नसकेकाले झनै समस्या भएको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद उपाध्यायले बताए । सदरमुकामनजिक पायक पर्ने अन्य स्थान नभएकाले बसपार्क सञ्चालनमा ल्याउन सके करिब १०० बस सजिलै अटाउन सक्ने उपाध्यायले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us