मुलुकभर चिनिएको तातोपानी विकासमा पछाडि

काठमाण्डु टुडे २०७० माघ १६ गते ६:४१ मा प्रकाशित

सिन्धुपाल्चोक, १६ माघ – विश्वमा उदयीमान शक्तिशाली देश छिमेकी चीनसँगको प्रमुख नाका तातोपानी जिल्लाको गौरब गाविस हो । मुलुककै दोस्रो÷तेस्रो स्थानमा गणिने भन्सार, ऐतिहासिक धरोहर तातोपानी धारा, दुगुनागढी, भैरवकुण्ड उच्च श्रृङ्खलाजस्ता प्राकृतिक र मानव संसाधनले भरिपूर्ण तातोपानी गाविस जिल्लाकै ऐतिहासिक ठाउँको रुपमा चिनिन्छ ।

लगभग १३ प्रतिशत व्यापारिक सम्वन्ध रहेको चीनको सामान तातोपानी नाका भएर नेपाल भित्रिन्छ । बार्षिक ३–४ अर्ब राजस्व संकलन हुने तातोपानी भन्सार अनियमितता र तस्करीतन्त्रको लागि वद्नाम कमाएको स्थल नै हो ।

साँढे ६ हजार जनसंख्या रहेको तातोपानी गाविसका बासिन्दा यहीँ निर्भर भएपनि शिक्षा, स्वास्थ्य, रोजगार समग्र जीवनस्तरको हिसाबले धेरै पछाडि परेको छ । छिमेकी चीनको खासा बजार ठूला सहरझैं चम्किरहँदा तातोपानीको लिपिङ र कोदारी विकासको पर्खाईमा बस्न बाध्य छ ।

बार्षिक अरबौंको आम्दानी र चलखेल हने तातोपानी गाविसका ३० प्रतिशत जनता अझै निरक्षर छन् । ६ हजार बढी जनजसंख्या भएको गाविसमा जम्मा ३ जनाले उच्च शिक्षा (एम.ए) गरेको गाविस सचिव डम्बर श्रेष्ठको जानकारीबाट थाहा भयो ।

नाकामा चलखेल गर्ने व्यापारी पनि अन्यत्रबाटै आउँछन् । तातोपानीकै बासिन्दा व्यापारी बन्न सकेका छैनन । यहाँका औँलामा गन्न सकिने केहि व्यापारीहरुले अकुत कमाए तर जनता अझै गरिबीको रेखामुनि बाँच्न विवश छन् ।

भन्सार, व्यापार– व्यवसायीलाई लक्षित गरी स्थापना भएका हिमालय सीमापार व्यापार संघ, उद्योग वाणिज्य संघ, ट्रक कन्टेनर व्यवायी संघजस्ता संघ–संस्थाले अकुत रकम असुल्छन् तर व्यापार–व्यवसायी हितको लागि केहि गरेको देखिन्न ।

मितेरी पुल र खासामा यातायात मजुर, व्यापारी–व्यवसायीलाई चिनिया पक्षले कुटपिट गर्दासमेत चुँ बोल्नदैनन् । भन्सारमा सामान लोड –अनलोड गर्ने मजदुरको लोडर संघले २/४ रुपैयाँ उठाएर जम्मा पारी कोदारी उच्च माध्यमिक विद्यालयलाई सहयोग गरिरहँदा व्यापारका नाममा संचालित यस्ता थुप्रै संघ–संस्थाले तातोपानी गाविसका जनताको पक्षमा केहि गरेको देखिँदैन ।

हिमालय सीमापार व्यापार संघले राजधानीको बुद्धनगरमा २५ करोड मूल्यबराबरको बिल्डिङ बनाएको छ भने ट्रक कन्टेनर व्यवसायी संघले सीतापाईलामा १० करोड मूल्यबराबरको बिल्डिङ बनाउँदैछ । करौडौं रकम असुलेर बलियो बनेका यस्ता संघ–संस्थामा केहि व्यक्ति अरबपति भएका छन् । तर तातोपानीका जनता गरिब छन् । यहाँका मजदुरहरुको जीवनस्तरखातिर यी संघ–संस्थाले माखो मारेका छैनन् ।

समग्र जिल्लाको व्यापार, उद्योग र व्यवसायीको निम्ति भनेर स्थापना गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र यसका पदाधिकारीहरु तातोपानी भन्सारको व्यापार र तस्करी गरेर बढी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा देखिन्छन् । जिल्लामा साना तथा ठूला उद्योगधन्दा र ब्यापारको लागि यो संस्था माउ संगठन बन्न सकेको छैन ।

१८ बर्ष गाविस अध्यक्ष चलाएका तातोपानीका अमृत खड्काकै पालादेखि यस्ता संघ–संस्था स्थापना भएका हुन् । व्यापारी हितको नाममा स्थापना भएका यी संघ–संस्थाको गतिविधि जानेका अध्यक्ष खड्काले कुनै चासो नदिँदा तातोपानीमा बिकास र सुधार नभएको यहाँका जनताको भनाई छ ।

मुलुककै आकर्षणको केन्द्र पर्यटकीयस्थल तातोपानी धारा दक्षिण कोरियाका  व्यापारीलाई दिने भन्ने सुनेका तातोपानीका जनताले सोबारे बिरोध जनाएका छन् । ‘बज्र फाउण्डेसनका अध्यक्ष रामकाजी पौडेलले ल्याएको प्रस्ताव हो यो, खासै कुरा भएको छैन’ तातोपानी धाराका अध्यक्षसमेत रहेका खड्काले भने ।

आफ्नो ठाउँको प्राकृतिक सौन्दर्यतालाई लिजमा बिदेशी हातमा सुम्पने कुरा कुनै हालतमा मान्य  नहुने तातोपानीबासीको आवाज छ । कुरा मिले अझै तातोपानी धारा दक्षिण कोरियाका व्यापारीलाई  लिजमा चलाउन दिने मुडमा समिति रहेको बुझिन्छ ।

विभिन्न संघ–संस्था जस्ले यहीँबाट पैसा कमाउछन, तिनले तातोपानी गाविसको विकासका लागि केहि प्रतिशत रकम छुट्याउन आवश्यक छ,’ भैरवकुण्ड युवा क्लवका पूर्वअध्यक्ष तातोपानी–४ निवासी पदमबहादुर श्रेष्ठले भने । श्रेष्ठले भन्सार, विभिन्न संघसंस्था, धारा समितिलगायतले आफ्नो आम्दानीको केही प्रतिशत तातोपानी गाविसको समग्र विकासमा छुट्याउन आवश्यक भएको बताए ।

यसैगरी मितेरी युवा क्लबका सल्लाहकार तथा पर्यटन व्यवसायी वडा नं.१ निवासी शेरबहादुर मगर (सेते) ले तातोपानी व्यापारिक र पर्यटकीय महत्वपूर्ण स्थल भएकोले पार्किङ सुविधा, सही ढङ्गको सडक निर्माण, होटेल–रेष्टुराँको सही व्यवस्थापन हुन जरुरी भएको र त्यसनिम्ति राज्यको ध्यान जान आवश्यक भएको बताए । मगरले अहिले पर्यटक आवतजावतमा निकै कठिन भएको पनि जानकारी दिए ।

अध्यागमन कार्यालयले नै नियम विपरित काम गरिरहेको देखिन्छ । व्यापारिक प्रयोजनका लागि दिने गरेको रातो पासपोर्ट पाँच सयमा बेच्ने तथा जसलाई पनि त्यस्तो पास दिएपछि समस्या उत्पन्न भएको पर्यटकहरुको गुनासो छ । पार्किङ सुविधा पुग्दो नहुन, व्यापारीहरुको स्वार्थका कारण नाका नियमित संचालन नहुनु, अध्यागमनबाट सहज सेवा प्राप्त नहुनु, विकासमा पछि परेकोले अव्यवस्थित र साँघुरो हुनुजस्ता कारणले पर्यटन व्यवसायमा समस्या आएको स्थानीयको गुनासो छ ।

आर्थिक र सामाजिक महत्व बोकेको तातोपानी गाविसको विकासका लागि सरकारी कार्यालय, राजनीतिक दल र पत्रकारहरुले ध्यान दिन जरुरी भएको स्थानीयको विचार छ ।

‘हप्तामा एकपटक सीडीओ, डीएसपी, वकिल, पत्रकार, नेता यहाँ आइपुग्छन् तर ठूला व्यापारी र केही चिनिएकालाई भेटेर फर्कन्छन् । यतिले पुग्दैन अब सबैले यहाँको विकासमा ध्यान दिनु पर्छ’ स्थानीयको भनाई उदृत गर्दै क्लवका पूर्वअध्यक्ष श्रेष्ठले भने । यो ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिन सके हाम्रो सान र इज्जत माथि जाने थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us