सरकारमा नजाने एमाओवादीको निर्णय

काठमाण्डु टुडे २०७० माघ १४ गते ११:०० मा प्रकाशित

maoist-flagकाठमाण्डु, १४ माघ – नेपाली काँग्रेसले सहमतीय सरकार गठनका लागि पहल तीव्र बनाएका बेला संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारबाहिरै बसेर संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारमा जाने जनादेश नभएको भन्दै प्रतिपक्षमै बस्ने निर्णय गरेको हो ।

पूर्वघोषित प्रतिबद्धताअनुसार एक वर्षभित्र नयाँ संविधान निर्माणमा सक्रिय हुने एमाओवादीको तयारी छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पोष्टबहादुर बोगटीले आफूहरु प्रतिपक्षमै बसेर तोकिएकै समयमा संविधान निर्माणमा केन्द्रित हुने बताए ।

यस्तै बैठकले ताजा जनादेशका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको समेत निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि त्यस सम्बन्धमा औपचारिक निर्णय भने केन्द्रीय समितिले लिने बोगटीको भनाइ छ ।

बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा प्रस्तुत गर्न तयार पारेको पार्टीको भावी कार्ययोजना र नेताहरुको कार्यविभाजनसम्बन्धी प्रस्तावलाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको थियो ।

एमाओवादीको केन्द्रीय समिति बैठकले पनि यही निर्णयलाई निरन्तरता दिएम सहमतिय सरकार नबन्ने लगभग निश्चित हुनेछ । चौंथो ठूलो दल राप्रपा नेपालले समेत सरकारमा नजाने बताइसकेकाले सहमति सरकार गठन हुने सम्भावन कम छ ।

राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको एक साताको समयभित्र सहमति नजुटे बहुमतिय सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
केन्द्रीय समिति बैठक स्थगित
एमाओवादी केन्द्रीय समिति बैठक स्थगित भएको छ । थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक बुधबारसम्मका लागि स्थगित भएको एमाओवादीले जनाएको छ ।

पार्टी मुख्यालयमा पेरिसडाँडामा बस्ने तय भएको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा प्रस्तुत गर्न तयार पारेको पार्टीको भावी कार्ययोजना र नेताहरुको कार्यविभाजनसम्बन्धी प्रस्तावमा छलफल हुने बताईएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us