सरकारको राष्ट्रिय कार्यविधि सञ्चालन हुँदै

काठमाण्डु टुडे २०७० माघ १३ गते १०:०१ मा प्रकाशित

काठमाण्डु, १३ माघ – सरकारले सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनःस्थापना गर्न राष्ट्रिय कार्यविधि सञ्चालन गर्ने भएको छ । शान्ति तथा पुनःस्थापना मन्त्रालयका अनुसार द्वन्द्व प्रभावित बालबालिकाको सही तथ्याङ्क आउन नसकेका कारण सो कार्यविधि ल्याउन लागिएको हो ।

मन्त्रालयको तथ्यांकअनुसार आठ हजार २५६ जना द्वन्द्व प्रभावित व्यक्तिका बालबालिका, ५२२ जना टुहुरा र ३६ जना घाइतेका सन्तान गरी जम्मा आठ हजार ८१८ जना बालबालिकाले मात्र सरकारको छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।

सबै द्वन्द्व प्रभावित बालबालिकाको सही तथ्याङ्क आउन नसकेका कारण थोरै बालबालिकाले मात्र सो छात्रवृत्ति पाउन सकेको भन्दै सबै बालबालिकाको सही तथ्याङ्क संकलन गरी उनीहरुलाई राहत प्रदान गराउन कार्यविधि ल्याउन लागेको मन्त्रालयका सूचना अधिकारी दामोदर भण्डारीले जानकारी दिए ।

सो कामका लागि सबै सुझाव सङ्कलन गरी स्वीकृत भएको कार्यविधि शान्ति कोषमा पेस गरिसकेको जानकारी गराउँदै शान्ति कोषबाट बजेट स्वीकृत भएमा सो कार्यविधि चाँडै नै सञ्चालन हुने उनको भनाई छ ।

भण्डारीका अनुसार सो कार्यविधिमा सबै जिल्लाका द्वन्द्व प्रभावित बालबालिकाको तथ्याङ्क संकलन गरी शिक्षा, रोजगारलगायत थप कार्यक्रम तथा राहत प्रदान गर्ने उद्देश्य कार्यविधिमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us