चितवनमा तीन हजारभन्दा बढी बालश्रमिक

काठमाण्डु टुडे २०७० माघ १३ गते ८:०० मा प्रकाशित

चितवन, १३ माघ – चितवनमा रहेका बालश्रमिकमध्ये आधाभन्दा बढी घरेलु बालश्रमिकका रुपमा रहेको पाइएको छ । बालबालिकाको क्षेत्रमा दशकदेखि काम गर्दै आएको संस्था दियालो परिवार चितवनले गरेको एक अध्ययनमा जिल्लामा कुल तीन हजार ७७६ बालश्रमिक रहेकामा ५० प्रतिशत बढी घरेलु बालश्रमिकको रुपमा बालबालिका रहेका छन् ।

एक हजार ९५९ बालक र एक हजार ८१७ बालिका रहेको दियालो परिवारका कार्यकारी निर्देशक केदारनाथ खनालले जानकारी दिए । उनीहरुमध्ये निकृष्ट बालश्रमिकको रुपमा रहेको सङ्ख्या पनि प्रसस्तै रहेको तथ्याङ्कमा उल्लेख छ ।

चितवनको भरतपुर र रत्ननगर नगरपालिकामा सबैभन्दा बढी बालश्रमिक रहेका छन् । भरतपुरमा एक हजार ६१९ र रत्ननगर नगरपालिकामा ५६५ जना बालश्रमिक रहेको अध्ययनले देखाएको छ । यस्तै दारेचोक गाविसमा १३३, शारदानगरमा २४५, खैरहनी गाविसमा ७५, बछौली गाविसमा १३९ बालश्रमिक रहेका छन् ।

नेपालमा भने निकृष्ट बालश्रममा छ लाखभन्दा बढी बालबालिका रहेको एक तथ्याङ्कले देखाएको छ । विश्वमा एक करोड ५८ लाख बालबालिका बालश्रममा रहेको तथ्याङ्क छ । बालश्रमका विषयमा समाचारहरु सञ्चार माध्यममा आए सरकारी तबरबाट कानुनी कारबाहीमा अग्रसरता हुने र काम गर्ने संघ संस्थाको समेत ध्यान जाने भएकाले सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने युनिसेफका श्यामराज घिमिरेले बताए ।

नेपालको कानुनमा १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन पाइँदैन । १४ देखि १६ वर्षका बालबालिकालाई विभिन्न सीमा आरामको समय, पढ्ने समय, रातिमा प्रयोग गर्न नपाइने, बिदाको समयलगायत तोकेर काममा लगाउनुपर्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us