के भने रेग्मीले संसदको पहिलो बैठकमा ?

काठमाण्डु टुडे २०७० माघ १२ गते १०:३७ मा प्रकाशित

Khilaraj-Regmiकाठमाण्डु, १२ माघ – मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले जनताको चाहना अनुसारको संविधान निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।

व्यवस्थापिका संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै रेग्मीले जनतामा अहिले आशाको सञ्चार प्रवाह भएको भन्दै जनताको चाहना पुरा गर्न सबै लाग्नुपर्ने बताए ।

रेग्मीले गरेको सम्बोधनको पूर्ण पाठ यस्तो छ :

सम्माननीय सभामुख महोदय,

सर्वप्रथम नेपालमा लोकतन्त्रको स्थापनाका लागि विभिन्न समयमा भएका क्रान्ति र आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

अहिलेसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई सँस्थागत गर्न संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने नेपाली जनताको चाहनालाई साकार पार्नु नै अहिलेको हाम्रो प्रमुख राष्ट्रिय दायित्व हो । यस प्रयोजनका लागि सम्वत् २०६४ साल चैत्र २८ गते भएको निर्वाचनबाट गठित संविधानसभाको निरन्तर प्रयासको बाबजुद संविधान निर्माणको प्रक्रिया पुरा हुन सकेन ।

नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम व्यवस्थापिका–संसदको रुपमा समेत जिम्मेवारी निर्वाह गरिरहेको तत्कालिन संविधानसभाको विघटनपश्चात् श्रृजना भएको अनिश्चय र शून्यताको परिस्थितिमा संविधानसभाको निर्वाचन सम्पन्न गराउने प्रयोजनार्थ राजनीतिक सहमतिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ अन्तर्गत तत्कालिन मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमार्फत् विशिष्ट परिस्थितिमा वर्तमान सरकार निर्माण भएको कुरा यहाँ स्मरण गर्न चाहन्छु ।

राजनीतिक दलहरुको उक्त सुझबुझ र बुद्धिमत्तापूर्ण समझदारीबाट संविधान निर्माण र राज्य व्यवस्था सञ्चालनको क्षेत्रमा देखिएको राजनीतिक र संवैधानिक अन्यौलताको स्थितिलाई हटाउँदै नेपाली जनताको ताजा अभिमतबाट पुनः संविधानसभाको गठन गर्न सकिएकोमा मलाई अत्यन्त खुसी र सन्तोषको अनुभूति भएको छ ।

सम्माननीय सभामुख महोदय,

गत माघ ८ गते सम्मानित संविधानसभाको पहिलो बैठक बसी संविधान निर्माणको प्रक्रिया प्रारम्भ भएको घटनाले अहिले देशवासीमा नयाँ आशाको सञ्चार गराएको छ । यसबाट अधुरो रहेको संविधान निर्माणको कार्यलाई पूर्णता प्रदान गर्ने र जननिर्वाचित सरकारको गठन गर्ने लगायतका सबै राजनीतिक र संवैधानिक प्रक्रियाको ढोका खुलेको छ ।

यस अवसरमा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित हुनुभएका यस गरिमामय सदनका सम्पूर्ण माननीय सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएबमोजिम आज सम्मानित व्यवस्थापिका संसदको अधिवेशन प्रारम्भ भएको छ ।

जवाफदेहीता अभिबृद्धि गर्ने जनप्रतिनिधियुक्त सम्मानित सँस्थाको क्रियाशिलताबाट विगतमा यसको अभावमा महसुस गरिएको रिक्तताको स्वतः अन्त्य भई संवैधानिक प्रक्रियाको थालनी भएको छ । सम्मानित व्यवस्थापिका–संसदको चालू अधिवेशनको पूर्ण सफलताको कामना पनि गर्दछु ।

अन्त्यमा, संवैधानिक अन्यौलताको विशिष्ट परिस्थितिमा मूलतः संविधानसभाको निर्वाचन प्रयोजनका लागि गठन भएको वर्तमान मन्त्रिपरिषद्लाई तोकिएको संवैधानिक जिम्मेवारी पूरा गर्दैै संविधानसभाको निर्वाचन सम्पन्न गर्नमा विभिन्न राजनीतिक दलहरु र संविधानसभामा निर्वाचित माननीय सदस्यहरुबाट प्राप्त सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । धन्यवाद ।

२०७० माघ १२ गते, आइतबार ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us