पाउरोटी कारखानाबाट नौ बालबालिका उद्धार

काठमाण्डु टुडे २०७० माघ ११ गते ३:५६ मा प्रकाशित

चितवन, ११ माघ  – चितवन प्रहरीले शनिबार बिहान यहाँ सञ्चालित विभिन्न पाउरोटी कारखानामा छापा मारेको छ ।

पाउरोटी कारखानामा बालबालिकाको प्रयोग भएको सूचनाको आधारमा छापा मारिएको चितवनका प्रहरी प्रवक्ता सञ्जय राउतले जानकारी दिए । उद्धार गरिएका बालबालिकाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

कारखानाका सञ्चालक नभएकाले उनीहरूलाई भने पक्राउ गर्न नसकेको उनले बताए । चितवनका अधिकाँश पाउरोटी कारखानामा बालबालिकाको प्रयोग हुने गरेको छ । अघिल्लो पटक पाउरोटी कारखानामा गरिएको अनुगमनमा समेत बालबालिकाको प्रयोग भएको पाइएको थियो ।

यसैबीच मालपोत कार्यालय चितवनका नायबसुब्बा रामप्रसाद न्यौपाने घुस लिँदालिँदै शुक्रबार रङ्गेहात पक्राउ परेका छन् । कार्यालयको भरतपुरस्थित मुद्दा फाँटमा कार्यरत न्यौपानेलाई घुस लिँदै गर्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जग्गा दाखिल खारेज गराउने क्रममा शुक्रबार अपराह्न भरतपुर नगरपालिका निवासी  रत्नकुमारी पोखरेलसँग रु आठ हजार घुस लिँदै गर्दा न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । न्यौपानेलाई हिरासतमा राखेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us