पाल्पाको चापपानी पूर्ण साक्षर गाविस

काठमाण्डु टुडे २०७० माघ ११ गते १:५४ मा प्रकाशित

तानसेन, ११ माघ – उत्तरी पाल्पाको चापपानी गाउँ विकास समितिलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । योसँगै उक्त गाविस पूर्ण खोपयुक्त, खुल्ला दिसामुक्त र पूर्ण साक्षर गाविस भएको छ ।

यसरी तीनवटै मापदण्ड पूरा गर्नेमा चापपानी गाविस जिल्लामै पहिलो बनेको छ । पूर्ण साक्षर कार्यक्रममा स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले चापपानी गाविस पछिल्लो समय जिल्लाकै नमुना गाविसको रुपमा अगाडि आएको भन्दै बधाई ज्ञापन गरे ।

जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले मदनपोखरापछि चापपानी गाविस पूर्ण साक्षर गाविस घोषणा हुन सफल भएको भन्दै बधाई दिए ।

सोही अवसरमा जिल्ला शिक्षा कार्यालयका उपसचिव दीपेन्द्र ढकालले चापपानी गाविसमा १५ देखि ६० वर्ष उमेर समूहका ९९.३२ प्रतिशत नागरिक साक्षर रहेको तथ्याङ्क पेस गरेका थिए ।

कार्यक्रममा साक्षर चापपानीका लागि सहयोग गर्ने सङ्घसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us