दक्षिण सुडानमा युद्ध विराम

काठमाण्डु टुडे २०७० माघ १० गते ३:५४ मा प्रकाशित

काठमाण्डु, १० माघ– अफ्रिकी देश दक्षिण सुडानमा सरकार र विद्रोहीबीच युद्धविराम भएको छ । दुबै पक्षका प्रतिनिधिबीच इथोपियामा भएको वर्तामा युद्ध विराम गर्ने सहमति भएको हो ।

इथोपियाको राजधानी अदिस अबाबाको एक होटलमा भएको वार्तामा चौबिस घण्टाभित्र युद्ध रोक्ने सहमति भएको बीबीसीले जनाएको छ । अर्को वार्ता २४ फेब्रुअरीमा हुने सहमति पनि भएको छ । सरकारको तर्फबाट हियाल डेंग र विद्रोहीको तर्फबाट तबन डेंगले वार्ताको नेतृत्व गरेका थिए ।

संयुक्त राष्ट्रसंघका शरणार्थी मामिलाका आयुक्त एन्टोनियो गुटर्सले युद्धविराम सहमतिको स्वागत गरेका छन् । उनले दीर्घकालीन रुपमा समस्याको समाधान गर्न आवश्यक कदम उठाउने प्रतिबद्धता जनाएका छन् ।

दक्षिण सुडानमा राष्ट्रपति साल्भा किर र अपदस्थ उपराष्ट्रपति रेक मचार पक्षबीच द्वन्द्व चर्किएको छ । मचारले सत्ता पल्टाउने कोशिस गरेको आरोपमा राष्ट्रपति साल्भा किरले अपदस्थ गरेका थिए । दक्षिण सुडानमा राष्ट्रपतिले बहुसंख्यक जाति र उपराष्ट्रपति अल्पसंख्यक जातिको प्रतिनिधित्व गर्छन् । यी दुईबीचको शक्ति संघर्षपछि जातिय हिंसाले उग्ररुप लिएको थियो । विगत पाँच महिनादेखि चर्किएको हिंसाले पाँचलाख मानिस विस्थापित भैसकेका छन् भने एक हजार बढिको मृत्यु भएको छ ।

हिंसा नरोकिएपछि संयुक्त राष्ट्रसंघको आग्रहमा नेपाली शान्ति सेनाको टोली दक्षिण सुडानमा शान्ति स्थापना गर्न खटिएको छ ।

नयाँ देश

दक्षिण सुडान विश्वकै नयाँ देश हो । सुडानबाट अलग भएको दक्षिण सुडान सन् २०११ मा स्वतन्त्र अस्तित्वमा आएको थियो । अफ्रिकी महाद्विपको केन्द्रमा रहेको यो देशको सिमा ६ वटा देशसँग जोडिएको छ । दक्षिण सुडानमा तेलको खानी प्रशस्त छ । यो विश्वकै कम विकसित राष्ट्रमा पर्दछ । यहाँका १५ प्रतिशत नागरिकसँग मात्र मोबाइलको पहुँच छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us