डा. केसीले आमरण अनसन तोडे

काठमाण्डु टुडे २०७० माघ १० गते ५:५९ मा प्रकाशित

Gobinda-KC- Anasan-Todiyo1काठमाण्डु, १० माघ–चिकित्साशास्त्र अध्ययन संस्थान सुधारका बिभिन्न माग राखेर आमरण अनसन बसेका डा. गोविन्द केसीले झण्डै दुई सातापछि अनशन तोडेका छन् । सरकार र चिकित्सकका प्रतिनिधिहरुबीच शुक्रबार विहान स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा ८ बुँदे सहमति भएपछि केसीले तोडेका हुन् ।

शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत होडजोर्नीको विरामी सात बर्षीया बालिका एसिला थापाको हातबाट जुस पिएर केसीले अनसन तोडेका छन् । बालिका थापाको उपचार डा. केसीले नै गर्दै आएका थिए । अनसन तोड्ने कार्यक्रममा दर्जनौं चिकित्सकहरु शिक्षण अस्पताल परिसरमा भेला भएका थिए ।

अनसन तोडेलगत्तै केसी आईसीयूमा भर्ना

अनसन तोडेलगत्तै केसीलाई आईसीयुमा राखेर उपचार थालिएको छ । लामो समयदेखिको अनसनले स्वास्थ्य गम्भीर भएपछि शिक्षण अस्पतालमै उनलाई उपचार शुरु गरिएको हो । ‘लामो समयको अनसनले उहाँलाई (डा.केसीलाई) निकै गलाएको छ,’ केसीको उपचारमा संलग्न डा. विद्या सिंहले भनिन्, ‘केही दिन आईसीयूमा राखेर उपचार गर्छौं ।’ डा. सिंहका अनुसार केसीको स्वास्थ्यमा पूर्णरुपमा सुधार आउन कम्तिमा तीन साता लाग्नेछ ।

के के भयो सहमति ?

सरकार र चिकित्सकका प्रतिनिधिहरुबीच ८ बुँदे सहमति भएको छ । मेडिकल कलेजलाई सम्वन्धनबारे निर्णय गर्न डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा नौं सदस्यीय समिति गठन गरिएको छ । केसीले सम्वन्धको मुद्दालाई प्रमुखताका साथ उठाएका थिए । यसैगरी हाललाई मेडिकल कलेजको सम्वन्ध नदिने, बरिष्ठताको आधारमा डिन नियुक्त गर्ने लगायत सहमति भएको छ । सहमतिअनुसार संस्थानमा पूर्वडिन डा. प्रकाश सायमीलाई नै पुनर्बहाली गर्ने सम्भावना बढि रहेको स्रोतको दावी छ । केसीले राखेको अर्को मुख्य माग अनुसार बुधबार नवनियुक्त डीन डा. शशि शर्मालाई बर्खास्त गरिएको थियो ।

केसीका माग सम्वोधन गर्न विहीबार मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटाको संयोजकत्वमा स्वास्थ्य, शिक्षा र गृह मन्त्रालयका सचिव सम्मिलित चार सदस्यीय समिति गठन गरेको थियो । समितिले शुक्रबार विहान र विहीबार साँझ चिकित्सकका प्रतिनिधिहरुसँग छलफल गरी सहमतिलाई अन्तिम रुप दिएको हो ।

चिकित्सक काममा फर्किए

केसीले अनसन तोडेपछि चिकित्सकहरु पनि आन्दोलन फिर्ता लिदै शुक्रबारदेखि काममा फर्किएका छन् । तत्कालीन डीन सायमीलाई राजनीतिक दवावमा राजीनामा दिन बाध्य पारेर त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शर्मालाई डिन नियुक्त गरेको भन्दै केसीले १३ दिनअघि आमरण अनसन शुरु गरेका थिए । शिक्षण अस्पताल महाराजगन्जका बरिष्ठ हाडजोर्नी विशेषज्ञ केसी अस्पताल परिसरमै आमरण अनसन बसेका थिए । केसीका मागप्रति समर्थन गर्दै सुरुमा शिक्षण अस्पतालका कर्मचारीहरुले आकस्मीक बाहेकका सबै काम ठप्प पारेका थिए । त्यसपछि चिकित्सकहरुको आन्दोलन देशव्यापी बनेको थियो ।

देशभरका सरकारी अस्पतालका चिकित्सकहरुले सेवा ठप्प पार्ने र सामुहिक राजीनामा दिने गरेपछि विरामीहरु भने उपचार सेवा नपाएर मर्कामा परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us