लोकसभामा आम आदमीको १० सिट !

काठमाण्डु टुडे २०७० माघ ९ गते ५:२४ मा प्रकाशित

kejariwalकाठमाण्डु, ९ माघ–दिल्ली विधानसभा चुनावमा आश्चर्यजनक परिणाम ल्याएर सरकारको नेतृत्व गरेको आम आदमी पार्टी (आप)ले अब लोकसभा चुनावमा कति सिट ल्याउला भनेर सबैमा खुल्दुली लागेको छ । भ्रष्टाचार विरोधी अभियान र सामाजिक काम गरेर सर्वसाधारणको मन जित्दै आएको आपले पनि चुनावको तयारीलाई जारी राखेको छ ।

भारतीयहरुले पनि लोकसभा चुनावमा कुन पार्टीले कति सिट जित्लान् भनेर हिसाब किताब गरेका छन् । इन्डिया टुडे ग्रुप र सी भोटरले हालै गरेको सर्वेक्षणमा आपले १० सिट जित्ने देखिएको छ । देशभरबाट कुल खसेको मतमध्ये ८ प्रतिशत आम आदमी पार्टीको पक्षमा खस्ने सर्वेक्षणले देखाएको छ । साथै सो पार्टी भारतको तेस्रो ठूलो दल बन्ने देखिएको छ ।

लोकसभा चुनाव आउन अझै धेरै समय बाँकी छ । कतिपय राज्यमा आम आदमी पार्टीको संगठन समेत छैन । उसले पनि आफ्नो संगठन विस्तारको काम र पार्टीको नीति तथा सिद्धान्तबारे सबै भारतीय जनतालाई जानकारी पनि गराएको छैन । यदि सो पार्टीले संगठन विस्तार र प्रचार प्रसार गरे थप पाँच प्रतिशत बढी भोट ल्याउने र लोकसभामा ३० सिट जित्ने बताइएको छ ।

आम आदमी पार्टीको नेता अरविन्द केजरीवाल हुन् । उनी भ्रष्टाचार विरोधी सामाजिक संस्थाबाट राजनीतिमा आएका हुन् । दिल्ली विधानसभा चुनावमा दोस्रो पार्टी बनेपछि केजरीवाल हाल मुख्यमन्त्री बनेका छन् । उनले सरकारमा आएलगत्तै पानी निःशुल्क र बत्तिमा सहुलियत दिएर जनताको मन जितेका छन् ।

मत सर्वेक्षणमा संलग्न मध्ये २५ प्रतिशत जनताले केजरीवाललाई देशको सबैभन्दा इमान्दार राजनेता भनेका छन् ।

उनलाई ‘सबैभन्दा उत्कृष्ट मुख्यमन्त्री’ को उपाधी पनि दिइएको छ । यसअघि गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई यो उपाधीले सम्वोधन गरिन्थ्यो । मोदी भारतको भावि प्रधानमन्त्रीको रुपमा चर्चामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us