
पेसावार, ५ माघ– पाकिस्तानको द्वन्द्वग्रस्त उत्तरपश्चिमी क्षेत्रमा आइतबार विहानै भएको आक्रमणमा २० जना पाकिस्तानी सैनिक मारिएका छन् ।
सैनिक सवारीका क्रममा रहेको समयमा उनीहरुलाई लक्षित गरी आक्रमण भएको थियो । निकै ठूलो संख्याका सैनिकको उक्त सवारीमा २० जना मारिएका अधिकारीहरुले जनाएका छन् ।
उत्तरपश्चिमी पेसावर सहरबाट केही पर रहेको बन्नु सहरमा सैनिकको सवारीलाई आक्रमणकारीले लक्ष्य बनाएका थिए । निकै नै कडा सुरक्षाका साथ चलिरहेको सो सवारीमा के कसरी विस्फोट गराइएको थियो भन्ने बारेमा भने केही बताइएको छैन ।
सो आक्रमणमा परी थप ३० जना सैनिक घाइते भएका छन् । उनीलाई स्थानीय अस्पतालमा पुर्याइएको छ । उनीहरुमध्ये अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेको पनि बताइएको छ ।
एकजना सैनिक अधिकारीले भने– सो आक्रमण कसरी भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको छ । बिहान भएको सो आक्रमणपछि अहिले उक्त स्थानमा निकै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पुगेका बताइएको छ ।
उक्त आक्रमण आत्मघाती थियो वा सैनिकको बाटोमा पहिले नै विस्फोटक पदार्थ विछ्याइएको थियो भन्ने बारेमा केही नखुलेको ती अधिकारीले जानकारी दिएका छन् । पाकिस्तानी सेना कयौं सवारी साधनमार्फत सो सहरमा पुगेका थिए ।
ती मध्येको एक सवारीमा आक्रमण गरी २० सैनिकको हत्या गरिएको र अरु ३० जनालाई घाइते बनाइएको हो । घाइते हुनेको संख्या ३० भन्दा बढी रहेको जनाइएको छ । उनीहरुको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृत्यु हुने सैनिकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।
उक्त क्षेत्रमा विगतका केही वर्षहरुदेखि जारी रहेका यस्ता आक्रमणहरुमा परी कयौं सैनिक तथा सर्वसाधारण नागरिकको ज्यान जाने गरेको छ । एएफपी