एप्पलले ग्राहकलाई हर्जाना तिर्ने

काठमाण्डु टुडे २०७० माघ २ गते ३:०१ मा प्रकाशित

APPLE-Logoकाठमाण्डु, माघ–ईलेक्ट्रोनिक सामान उत्पादन गर्ने लोकप्रिय अमेरिकी कम्पनी एप्पलले आफ्ना ग्राहकहरुलाई ३ करोड २५ लाख डलर बराबरको हर्जाना तिर्ने भएको छ ।

एप्पलले लोकप्रिय म्याक सिरिजका कम्प्युटर तथा ल्यापटप, आईप्याड ट्ब्लेट, आईफोन, मोबाईल सेटहरु र आईपड उत्पादन गर्ने गर्छ ।

एप्पलको एप स्टोरबाट नाबालिगहरुले अभिभावकहरुको अनुमतिविना बेरोकटोक एप्लिकेशनहरु डाउनलोड गर्ने गरेको भन्दै एप्पलमाथि ग्राहकहरुले हर्जानाको माग सहित अमेरिकी फेडरल ट्रेड कमिशनमा उजुरी दिएका थिए । लामो कानुनी प्रकृयाको झण्झटबाट बच्न ग्राहकहरुलाई हर्जाना तिर्ने निधो गरेको एप्पलले जनाएको छ । एप्पलले यसपटक आफ्ना ३७ हजार ग्राहकहरुलाई हर्जाना तिर्ने जनाएको छ । अब एप्पलले आफ्नो बिल भुक्तानी प्रकृयामा समेत परिवर्तन ल्याउने छ ।

आफ्ना बालबालिकाहरुले स्टोरमा गएर बेरोकटोक खरिद गर्दा ठूलो बिल आउने गरेको एप्पलका उपभोक्ताहरुको विगत लामो समयदेखि गुनासो रहँदै आएको थियो ।

यसअघि बेलायतबाट प्राप्त यस्ता गुनासाहरुमा छानविन गरि एप्पलले अभिभावकहरुलाई खर्चिएको रकम फिर्ता गर्ने गरेको थियो । अब भने एप्पलले भुक्तानी प्रकृयामा नै परिवर्तन ल्याउने जनाएको छ । एप स्टोर उपलब्ध विभिन्न महंगा गेमहरु यसरी बालबालिकाहरुले अभिभावकको जानकारीबीना खरिद गर्ने गरेको पाईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us