पोलियो थोपा होइन चामल मागे राउटेले

काठमाण्डु टुडे २०७० पुष २८ गते ६:०३ मा प्रकाशित

सुर्खेत, २८ पुस–सुर्खेतको साटाखानीमा विगत दुई महिनादेखि अस्थायी रुपमा बस्दै आएका राउटेका बालबालिकाले पोलियो थोपा खान मानेका छैनन् । जिल्ला स्वास्थ्य कार्यालयको पहिलो प्रयास र विश्व स्वास्थ्य सङ्गठनको पुनः प्रयासपछि पनि राउटे मुखियाहरुले पोलियो थोपा खुवाउन नमानेपछि बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका छन् ।

सदरमुकाम वीरेन्द्रनगरबाट शनिबार राउटे बस्तीमा पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीलाई राउटेहरुले आफ्ना बालबालिकालाई पोलियो थोपा नख्वाएरै फर्काइदिएका छन् । पहिलोपटकको भन्दा केही लचक भने भएको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि नेहा राजभण्डारीले बताइन् ।

‘उनीहरु अहिले केही लचक भएका छन्’, उनले भनिन्, ‘उनीहरुको परम्परालाई हामी एकैपटक परिवर्तन गर्न सक्दैनौं, पोलियो थोपा खुवाउन प्रयास गरिरहन्छौं ।’

राउटे मुखियाहरुले पोलियो खुवाउनु आफ्नो रीतिरिवाज र परम्पराभित्र नपरेको भन्दै खान नमानेका हुन् । राउटे मुखिया सूर्यनारायण शाहीले आफूहरुले अहिलेसम्म पोलियो पनि नखुवाएको र आफ्ना बालबालिका निरोगी रहेको दाबी गर्दै पोलियो थोपा नखुवाउने बताए । ‘यस्तो त हाम्रो रीति छैन त, उनले भने, ‘मेरो बच्चा रोगी त छैन, हामीलाई बरु चामल चाहिएको छ ।’

राउटेहरु लाइन नलागी आफ्नै झुप्राभित्रै पोलियो थोपा खान भने सहमत भएका थिए । तर विश्व स्वास्थ्य सङ्गठनको टोलीले त्यसरी नखुवाउने भन्दै अर्काेपटक लाइन लगाएरै पोलियो थोपा खुवाउने दाबी गरेको छ । नेपालबाटै पोलियो उन्मूलन गर्ने उद्देश्यका साथ नेपाल सरकारले पोलियो थोपा खुवाउने अभियान चलाएअनुसार राउटे बालबालिकालाई पनि पोलियो थोपा खुवाउने प्रयास गरिएको हो ।

चामल र कम्बल वितरण

सुर्खेतमा केही दिनदेखि चिसो निकै बढेपछि साछटाखानी गाविसमा रहेका राउटे बस्तीमा प्रशासनले चामल र कम्बल वितरण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको सहयोगमा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरसहितको टोली राउटे बस्तीमै पुगी कम्बल र चामल वितरण गरेको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुँवरले राउटेहरुलाई ५० थान कम्बल र साढे दुई क्विन्टल चामल हस्तान्तरण गरेका हुन् ।

माघे सङ्क्रान्ति नजिक आएको र चिसो बढेकाले राउटेलाई राहत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टंकप्रसाद चापागाईंले बताए । राउटेहरु माघीका लागि खसी र चामलको जोहो गर्न अहिले सदरमुकाम वीरेन्द्रनगर र गाउँहरुमा छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us