नक्कली औषधिले जाला ज्यान

काठमाण्डु टुडे २०७० पुष २८ गते ४:२६ मा प्रकाशित

काठमाण्डु-दुखाइ कम गर्ने, यौनउत्तेजना बढाउने वा गर्भपतन गराउने औषधि किन्दै हुनुहुन्छ ? सावधान ! नक्कली औषधिले गुम्ला ज्यान ! राजधानी उपत्यकाकै बजारमा भारत र तेस्रो मुलुकबाट ल्याइएका गुणस्तरहीन, अवैध (नक्कली) औषधि खुलमखुला बिक्री भइरहेको छ।

करिब एक महिनाअघि राजधानीबाटै पक्राउ परेका कारोबारी शालिकराम खतिवडाबाट बरामद १० किसिमका, १० हजारभन्दा बढी ट्याब्लेट औषधि यससम्बन्धी नियमन निकाय औषधि व्यवस्था विभागमा दर्तै छैनन्।

खुला सीमाको लाभ उठाउँदै भारत र तेस्रो मुलुकबाट नेपाली बजारमा भित्र्याइएका यस्ता अवैध र नक्कली औषधिका कारण बिरामीको समस्या निदान हुनुको सट्टा थप जोखिममा पर्नसक्ने विभागले शुक्रबार सचेत गराउँदै खतिवडाविरुद्धको मुद्दाबारे सार्वजनिक गरेको हो।

विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले नेपाली बजारमा अवैध औषधि भित्र्याउने कार्यमा थुप्रै गिरोही सक्रिय रहेको सूचना पाएको जानकारी दिए।
‘नेपालमा बिक्री गर्न सम्बन्धित औषधि उत्पादन कम्पनीहरु औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्छ,’ अधिकारीले भने, ‘गैरकानुनी औषधि बेच्ने व्यक्तिहरुको

गिरोह नै उपत्यकामा सक्रिय रहेको जानकारी आएकाले प्रहरीको सहयोगमा उनीहरुको खोजी गरिरहेका छौं।’

नक्कली औषधि सस्तो हुने भएकाले औषधि पसले र उपभोक्ता आकर्षित हुने र त्यसले जनस्वास्थ्यमा जोखिम थपिने विभागको भनाइ छ।

गैरकानुनी रुपमा भारत तथा तेस्रो मुलुकबाट अवैध औषधि भिœयाउँदै नेपाली बजारमा बिक्री गर्दै आएका खतिवडालाई महानगरीय प्रहरी परिसर हनुमानढोकाका अधिकृत र औषधि व्यवस्था विभागका निरीक्षकको संयुक्त टोलीले गत महिना भोटेबहालबाट पक्राउ गरेको थियो।

विभागले खतिवडामाथि औषधि ऐनविपरीत कार्य गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइसकेको छ। ऐनअनुसार अवैध औषधि पैठारी गर्नेलाई तीन वर्षसम्म कैद वा २५ हजार रुपैयाँ वा दुवै जरिवाना हुन्छ। विभागले खतिवडालाई कैद र जरिवाना दुवै गराउन मागदाबी गरेको छ।

खतिवडाले ललितपुर तिखेदेवलस्थित धर्मेन्द्रप्रसाद महतोले सञ्चालन गरेको पौडेल क्लिनिकमार्फत बेचबिखनको जालो फिँजाउँदै आएको अनुसन्धानमा खुलेको छ।

विभागका अनुसार खतिवडासँग औषधि डिलरका रुपमा अन्य पसलमा औषधि पठाउँदै आएका महतोको क्लिनिक पनि कतै दर्ता छैन। खतिवडा पक्राउ गरेको जानकारीलगत्तै महतो फरार छन् भने विभागले उनको क्लिनिक बन्द गराएको छ।

नेपालमा दर्ता नभएका र कुनै अध्ययन–अनुसन्धान नभएका त्यस्ता औषधि सस्तोमा ल्याएर बढी कमिसनको लोभमा कारोबार गरिरहेको उजुरी विभागमा परेको अधिकारीले जानकारी दिए। ‘अवैध रुपमा भित्रिएका औषधि सस्तोमा पाएर धेरै पसलले खरिद गरिरहेको जानकारी आएको छ,’ उनले भने, ‘त्यस्ता औषधि खरिद गर्नेलाई पनि कारबाही गर्ने तयारी गरिरहेका छौं।’

खतिवडालाई विभागले गर्भपतन गराउने, पेनकिलर, सुन्निएको समस्या कम गर्ने, एन्टिबायोटिक्स, मिर्गौलाको समस्या भएकालाई दिइने, यौनउत्तेजना बढाउने र एन्टिएलर्जीका अवैध औषधिसहित पक्राउ गरेको थियो।

ती औषधि नष्ट गर्ने तयारी गरेको अधिकारीले बताए। ‘दर्ता नै नभएका ती औषधि स्वास्थ्यका लागि खतरनाक हुनसक्ने भएकाले डिस्पोजल गर्न लागिएको हो,’ उनले भने, ‘ती औषधि कस्तो प्रकृतिका छन्, कुन रुपमा बनेका छन् भन्ने थाहा नभएकाले सेवन गर्नु मानव स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ।’

विभागले सार्वजनिक गरेको विवरण अनुसार बरामद औषधिमा रिएक्टाइन–४०० एसआर नामका २ हजार ट्याब्लेट, एबिडी–४०० नामको जुकाको औषधि ७ सय ट्याब्लेट, एलर्जी हटाउने एल–हिस्ट नामको १३ सय ५० ट्याब्लेट, गर्भपतन गराउने प्रेगआउट किट ३ सय स्ट्रिप, सेफेग्जिम–२०० डिटी नामको एन्टिबायोटिक्स ७ सय ट्याब्लेट छन्।

यस्तै, यौनउत्तेजना बढाउने जेनेग्रा–१०० र भिगोर–१०० २ हजार ४ सय ८० ट्याब्लेट, सुन्निएको समस्या कम गर्ने लुपिसेरा–डी २ हजार ट्याब्लेट, पेनकिलर एसिमेज–१०० ४ सय ट्याब्लेट र मिर्गौलाका समस्या भएकाले सेवन गर्ने रेनहोल्ड २ सय ट्याब्लेट अवैध औषधि फेला पारिएको थियो।

अवैध औषधि न्यून गुणस्तरका हुने भएकाले सेवन गर्नेमा नकारात्मक असर परेर बिरामीको मृत्युसमेत हुनसक्छ। अवैध यौनवर्द्धक औषधिले मानिसको नसा फुलाएर रगतको चाप बढाइदिने हु“दा तत्काल मुटु बन्द हुनसक्ने समस्या उत्पन्न गराउँछ।

यस्ता औषधिको ‘साइड इफेक्ट’ ले मानिसमा अनुहार सुन्निने, लामो समय टाउको दुख्ने, आ“खा धमिलो देखिने तथा कतिपय मानिस यौनक्रियाकलाप गर्दागर्दै मर्नसमेत सक्ने समस्या देखिने खतरा छ।

आपतकालीन अवस्थामा मात्र प्रयोग गरिने भनिएको गर्भनिरोधक चक्कीको पनि महिलाले बढी मात्रामा प्रयोग गरिरहेको पाइन्छ। यस्ता चक्कीको गलत प्रयोगले महिलाको प्रजनन शक्ति नै ह्रास हुने, महिनावारी गडबडी हुने, बढी रक्तस्राव हुने, वाकवाकी लाग्ने, शरीरमा रगतको मात्रा कम हुँदै गएर मृत्युसमेत हुने समस्या देखा पर्नसक्छ।

यस्तै, सुरक्षित स्थानमा चिकित्सक तथा तालिमप्राप्त स्वास्थ्यकर्मीको निगरानीमा गर्भको बच्चाको अवस्था हेरेर सेवन गर्नुपर्ने गर्भपतनका अवैध औषधिले महिलाको ज्यानै जोखिममा परिरहेको अधिकारीले बताए। उनका अनुसार यस्ता औषधिले अत्यधिक रक्तस्राव हुने, औषधीको डोज नमिल्दा महिलाको मृत्यु हुनसक्छ। – नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us