काठमाण्डु, २७ पुस – सरकारले रोजगारीका लागि मलेसिया जान चाहने नेपालीले चर्को भिसा शुल्क तिर्नुपर्ने नयाँ प्रावधानप्रति ध्यानाकर्षण भएको भन्दै शुल्क घटाउन कूटनीतिक प्रयास सुरु गरेको छ ।
मलेसिया सरकारले गत नोभेम्बरदेखि लागू हुने गरी भिसा जारी प्रणाली बाह्य संस्थामार्फत (आउट सोर्सिङ) गरेकाले प्रवेशाज्ञा दस्तुर बढेको परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले बताए ।
‘नेपाली आप्रवासीलाई सरल र सहज ढंगले भिसा प्रदान गर्ने तथा उचित दस्तुर लिने व्यवस्थाका लागि कूटनीतिक तहमा प्रयास भइरहेको छ,’ धितालले भने, ‘क्वालालम्पुरस्थित नेपाली दूतावासबाट हाम्रा राजदूतले र यहाँस्थित मलेसियाली दूतावासमा हामीले आवश्यक प्रयत्न गरिरहेका छौं ।’
दुवै पक्षलाई मान्य हुने गरी व्यवस्था गर्न सरकारले अनुरोध गरेको उनले जानकारी दिए । मलेसियाली अधिकारीहरूसँग निकट सम्पर्कमा रहेर सरकारीस्तरका काम भइरहेको र समस्या समाधानको पहल भइरहेको उनको भनाइ थियो ।
गत नोभेम्बर अघि ७ सय रुपैयाँमा भिसा दिँदै आएको मलेसियाले त्यसलाई आउटसोर्सिङ गरेपछि ३ हजार ९ सय रुपैयाँ पुर्याएको छ ।
यसैबीच, गैरकानुनीरुपमा साउदी अरेबियामा बसेका आप्रवासी कामदारलाई २०१३ अप्रिल १५ तारिखसम्ममा वैधानिक ढङ्गले बस्ने व्यवस्था मिलाउन वा स्वदेश फर्कन त्यहाँको सरकारले दिएको अन्तिम समय समाप्त भएपछि २८ हजार नेपाली स्वदेश फर्केका जानकारी पनि धितालले दिए ।
यो अवधिमा ७ हजार नेपालीले वैधानिकता प्राप्तिसम्बन्धी दस्तावेज लिएकाले उनीहरू भने त्यही काम गरिरहेको बताए । वैधानिकता प्राप्त गर्न नसकेका/साउदी सरकारले प्रदान गरेको आममाफीमा सहभागी हुन अक्षम ५ सय नेपालीलाई घर फर्काउने प्रयासमा रियादस्थित नेपाली दूतावास लागिपरेको पनि उनले बताए । रासस