चीनमा सरकारी भोजदेखि उपहारसम्म प्रतिबन्ध

काठमाण्डु टुडे २०७० पुष २६ गते १३:२९ मा प्रकाशित

chinaबेइजिङ, २६ पुस – चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले गत वर्ष उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण अभियानमा एक लाख ८२ हजार अधिकारीमाथि कारबाही गरेको छ ।

पार्टीको अनुशासनसम्बन्धी निरीक्षणका लागि केन्द्रीय आयोगका उपप्रमुख हुआङ सुसियानले गत वर्ष चीनमा भ्रष्टाचार नियन्त्रण अधिकारीहरूले भ्रष्टाचारका विषयमा १९ लाख ५० हजार आरोप प्राप्त गरेको र तीमध्ये एक लाख ७२ हजार पाँच सय ३२ मुद्दामा अनुसन्धान गर्न स्वीकृति दिएको जानकारी दिए ।

हुआङले यसको नतिजाको रूपमा एक लाख ८२ हजार ३८ अधिकारीलाई अनुशासनको कारबाही गरिएको र कारबाहीमा चेतावनी दिने कार्यदेखि पार्टीबाट निष्कासन गर्नेसम्म परेको बताए ।

कम्युनिस्ट पार्टीका प्रमुख सी जिनपिङले आफू शासनमा आएपछि भ्रष्टाचारविरुद्ध कडा अडान लिदै आएका छन । उनले भ्रष्टाचारले मुलुकलाई नष्ट गर्ने चेतावनी दिदै आएका छन ।

चीनमा भ्रष्टाचारका कारण जनतामा क्रोध बढेको छ र सीले उच्चदेखि तल्लो स्तरका अधिकारीसम्म कारबाही गरिने बताएका छन । उनले आर्थिक अनुशासनको उपाय पनि अवलम्बन गरेका छन ।

जसमा सरकारी भोजदेखि उपहार दिने कार्यसम्म कटौती भएका छन् ।
यस कारबाहीमा हालसम्म उपमन्त्रीस्तरका १९ व्यक्तिलाई पदमुक्त गरिएको छ । आलोचकहरूले भने हालसम्म पनि व्यापक रहेको भ्रष्टाचार रोक्न प्रणालीगत उपाय नगरिएको आरोप लगाएका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us