सभासद बनाउन तेस्रो लिंगीहरुको माग

काठमाण्डु टुडे २०७० पुष २६ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, २६ पुस – यौनिक तथा लैंगिक अल्प संख्यक (तेस्रो लिङ्गी)हरूले सरकारबाट मनोनीत गरिने २६ जना सभासदमा तेस्रो लिंगीबाट कम्तीमा तीन जना प्रतिनिधित्व गर्नुपर्ने माग गरेका छन् ।

नील हिरा समाजले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका पार्टीले प्रत्यक्ष तथा समानुपातिक दुवैमा तेस्रो लिंगीको प्रतिनिधित्व नगरेपछि कम्तीमा तीन जनालाई संविधानसभामा प्रतिनिधित्व गराउन माग गरेका हुन् ।

नेपाली काँग्रेसमा आबद्व तेस्रो लिंगी भूमिका श्रेष्ठले प्रत्यक्ष तथा समानुपातिक कुनैमा पनि तेस्रो लिंगीको प्रतिनिधित्व नभएपछि सरकारले मनोनीत गर्ने २६ जनामा तेस्रो लिंगीको प्रतिनिधित्व हुनुपर्ने माग गरे ।

नेकपा (एमाले)पार्टीमा आबद्व सिल्पा चौधरीले तेस्रो लिंगीको पहिचान र विकासका लागि संविधानसभामा सहभागी हुनुपर्ने जरुरी रहेको भन्दै तेस्रो लिंगीलाई नेपाली नागरिकको परिचय (नागरिकता)समेत नपाएको अवस्था भएको बताए ।

तेस्रो लिंगीले दलहरूले आफ्नो मतको प्रयोग गरेको तर उनीहरूको प्रतिनिधित्वलाई बेवास्था गरेको समेत गुनासो गरेका छन् । समाजको तथ्यांकअनुसार संविधानसभा निर्वाचनमा विभिन्न जिल्लाबाट ७४५ जना तेस्रो लिङ्गीले मतदान गरेका थिए ।

सरकारले मनोनीत गर्नेमा तेस्रो लिंगीलाई पनि संविधानसभामा सहभागी गराउनका लागि दबाबमूलक आन्दोलनमा उत्रिने समाजले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us