भारतीय प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेट अनिश्चित

काठमाण्डु टुडे २०७० पुष २६ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, २६ पुस–गृह एवम् परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहसँगको अनिश्चित देखिएको छ । तीनदिने औपचारिक सद्भावना भ्रमणमा आगामी मङ्गलबार नयाँदिल्ली जान लागेका परराष्ट्रमन्त्री घिमिरेले भारतीय प्रधानमन्त्रीसिंहसँगको भेट निश्चित भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । Madhab-Ghimire
मन्त्री घिमिरेले भारतीय प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको भएपनि त्यो भेट सुनिश्चित भइनसकेको परराष्ट्र प्रवक्ता दीपक धितालले बताए । मन्त्री घिमिरेसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशङ्कर मेननले पनि शिष्टाचार भेट गर्ने उनले बताए ।
भारतीय विदेशमन्त्री सलमान खुर्सिदको निमन्त्रणामा त्यसतर्फ जान लागेका परराष्ट्रमन्त्री घिमिरेले त्यहाँ रहँदा आफ्ना समकक्षीहरू विदेश तथा गृह मन्त्रीसँग बेग्लाबेग्ले भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री घिमिरेका साथ उहाँकी धर्मपत्नी, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, गृह मन्त्रालयका सहसचिव शङ्करप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव निर्मलकुमार काफ्ले र शिष्टाचार अधिकृत भारत जाने तय भएको उनले बताए ।
नयाँदिल्लीबाट कार्यबाहक राजदूत खगनाथ अधिकारी र ‘काउन्सिलर’ तीर्थ वाग्ले मन्त्री घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनेछन ।
“भ्रमणको खासै कार्यसूची छैन, नेपाल–भारत सम्बन्धका विविध आयाममा छलफल हुनेछ जुन विद्यमान सम्बन्ध अझ सुदृढ तुल्याउनेमा केन्द्रित हुनेछ,”–शताब्दीऔँ पुरानो पारस्परिक सम्बन्ध अझ सुमधुर तुल्याउन भ्रमण फलदायी हुने विश्वास प्रवक्ता धितालले व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us