एमाओवादी सल्लाहकार परिषदको बैठक जारी

काठमाण्डु टुडे २०७० पुष २७ गते १:१८ मा प्रकाशित

Prachanda-and-companyकाठमाण्डु, २७ पुस – एकीकृत नेकपा माओवादीको सल्लाहकार परिषद्को बैठक शनिबार दोस्रो दिन पनि जारी छ ।

बैठकमा एमाओवादी शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु पनि सहभागी छन् ।

यसअघि शुक्रबारको बैठकमा बोल्ने अधिकांश सल्लाहकारले गुट भत्काएर एउटै पार्टी बनाउन शीर्षनेताहरुलाई सुझाव दिएका थिए ।

सल्लाहकारहरुले पार्टी नेतृत्वमा देखिएको अविश्वासका कारण विरोधीले षड्यन्त्र गर्ने मौका पाएको भन्दै तीन नेताको झाँको झारेर त्यस्तो सुझाव दिएका हुन् । समानुपातिक सूची छनौटपछि तीन नेताबीच तिक्ततापूर्ण सम्बन्ध देखिएको बेला सल्लाहकारहरुले त्यस्तो सुझाव दिएका हुन् ।

करीब ५० भन्दा बढी सल्लाहकार सहभागी बैठकमा शुक्रबार दर्जन बढिसल्लाहकारहरुले आफ्नो धारणा राखेका छन् । सल्लाहकारहरुको अभिव्यक्तिमा आक्रोश, कुण्ठा अपेक्षा, चिन्ता र चिन्तन पाइएको सहभागी एक सदस्यले काठमाण्डु टुडेलाई बताए । उनले भने ‘नेताहरुले पनि आत्मबोध गरे जस्तो लाग्थ्यो ।’

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नुवाकोटका सहिद राजन रायमाझीकी आमा समेत रहेकी सल्लाहकार अम्बिका थापाले तीन जना नेताले सहिदलाई भाग लगाएर के गर्न खोजेको भन्ने प्रश्न गरेकी थिइन् ।

थापाको अभिव्यक्ति सुनिरहदा तीनै जना नेताको अनुहारमा परिवर्तन देखिएको एक सहभागीले बताए ।

सल्लाहकारहरु दिपेन्द्र बहादुर क्षेत्री, हरिगोविन्द लुइटेल, हिमालधन राई र बाबुलाल पुन लगायतले भने गुटबन्दीको प्रभाव माथिदेखि तलसम्म देखिएको, जनयुद्ध र जनआन्दोलनबाट आएका नेता कार्यकर्ताकाबीच अन्तरघुलन हुन नसकेको, पार्टीका विषय पार्टी भित्र छलफल गर्नुको सट्टा मिडियामार्फत आउने गरेको स्मरण गराएका थिए । ‘उहाँहरुले तार्किक, रचनात्मक, बौद्धिक, आलोचनात्मक सुझाव राख्नु भएको छ’ ती सहभागीले भने ।

सल्लाहकारहरुको सुझावपछि तीनै जना नेताहरुले आ-आफनो धारणा राख्ने एमओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us