‘नेपाल विश्वशान्ति र निःशस्त्रीकरण चाहन्छ’

काठमाण्डु टुडे २०७० पुष २६ गते ८:०२ मा प्रकाशित

khilraj regmiकाठमाण्डु, २६ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले विश्वशान्ति र निःशस्त्रीकरण नेपालको चाहना भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघका उपमहासचिव एवम् निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि एन्जिला केनसँग विहीबार आफ्नै कार्यकक्षमा भएको भेटमा रेग्मीले शान्ति, विकास र आमविनाशका हतियाररहित विश्व हुनुपर्ने नेपालको चाहना रहेको बताए ।

रक्षा मन्त्रालयकोसमेत जिम्वेवारी सम्हालेका रेग्मीले आणविक, रासायनिक, जैविकलगायत आमविनाशकारी हातहतियार पूर्णरूपमा नष्ट गर्नुपर्ने तथा सुरक्षा खर्चमा लगानी भएको अर्बौंअर्ब डलर गरिबी निवारण एवम् विकासका क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा रेग्मीले विश्व शान्ति, सुरक्षा, शिक्षाका साथै निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय कार्यालय (युएनआरसिपिडी) को प्रभावकारिताबारे हतियार व्यापार सन्धिका पक्षधर भएका नाताले नेपालको अवधारणा प्रस्तुत गरेका थिए ।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव केनले निःशस्त्रीकरणसम्बन्धी गतिविधिमा नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । एसिया–प्रशान्त क्षेत्रमा युएनआरसिपिडीलाई विस्तार गर्नका लागि नेपालले सघाउने प्रतिबद्धता रेग्मीले व्यक्त गरेको उनले जानकारी दिए ।

सम्पन्न एवम् विकसित राष्ट्रले हातहतियार एवम् सुरक्षाका लागि छुट्याएको खर्च शान्ति, विकास र गरिबी न्यूनीकरणका क्षेत्रमा क्रमशः परिचालन हुँदै जाने विश्वास उनको छ ।

निःशस्त्रीकरणका निम्ति अन्तर्राष्ट्रिय दातृ निकायले  सघाउने आश्वासन पनि दिएको उनले बताए । पाँच वर्षदेखि युएनआरसिपिडीको कार्यालय नेपालमा सक्रिय छ । उनी गत साता नेपाल भ्रमणमा आएका हुन् । यहाँ रहँदा उनले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us