चिसोबाट मृत्यु हुनेको संख्या पाँच

काठमाण्डु टुडे २०७० पुष २६ गते ७:२७ मा प्रकाशित

बर्दिवास, २६ पुस – महोत्तरीमा यस वर्ष चिसोका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

मंसिर अन्तिम सातादेखि चलेको पश्चिमी वायुसँगैको चिसो स्याँठ चलिरहेको छ ।  लगातारको स्याँठ छल्न न्यानो लुगा र पोषिलो खानाको जोहो हुन नसक्दा जिल्लाका गाउँनगर बस्तीका दीर्घरोगी वृद्ध चिसोले कठ्याङ्ग्रिँएर मर्ने गरेको देखिन्छ ।

पुस लागेसँगै मटिहानीका ७० वर्षीय मगन्ते चिसोले कठ्याङ्ग्रिँएर मरेको एक महिना नबित्दै विहीबार राति खाना खाएर सुतेका भङ्गाहा–८ का मुगराहावाला भनिने ७३ वर्षीय रामचरित्र साह शुक्रबार बिहान चिसोले कक्रक्क परेको अवस्थामा ओछ्यानमै मृत भेटिएपछि यसपालि अहिलेसम्म चिसोले मर्नेको सङ्ख्या पाँच पुगेको हो ।

यसअघि जिल्लाको धमौरा र बनौलीदनौलीमा गरी पाँच दिन पहिले मात्र तीनजनाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको थियो । चिसोले कठ्याङ्ग्रिँएर मर्नेमा अहिलेसम्म सबै ६० वर्ष नाघेकाहरु छन् ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले भने चिसोकै कारण मृत्यु भएको भन्ने पुष्टि नभएको जनाएको छ । यसबीचमा मृत्यु भएका पाँचैजना श्वासप्रश्वासका दीर्र्घ रोगी भएको जानकारी प्राप्त भएको कार्यालयका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताए ।

जिल्लाको सुदूर उत्तरवत्र्ती बर्दिवासस्थित बर्दिवास अस्पताल, सम्सी, लोहारपट्टि र गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्र एवम् जलेश्वर अस्पतालमा बिरामीको चाप निकै बढेको ती स्वास्थ्य निकायले जनाएका छन् ।

अहिले जिल्लाका स्वास्थ्य संस्थामा श्वासप्रश्वास, रुघाखोकी, ज्वरो आउने र हाडजोर्नीका गरी १०० भन्दा बढी बिरामीले उपचार लिइरहेको वरिष्ठ स्वास्थ्यकर्मी झाले बताए ।

पछिल्ला दिनमा चिसोका कारण खासगरी दलित र गरिब बस्तीका वृद्ध, सुत्केरी र बालबालिका बिरामी हुने क्रम बढेको पाइएको कार्यालयले जनाएको छ ।
सागपात मिसिएको ताजा खानेकुरा तात्तातै  खाने, लुगा पर्याप्त नभए पातपतिङ्गर बालेर आगो ताप्ने र दीर्घ रोगीले स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन मात्रै गरे पनि चिसोको जोखिम निकै कम हुने वरिष्ठ स्वास्थ्यकर्मी झाले बताए ।

सचेतना बढाउन सकिए बर्सेनि चिसोबाट हुने मानवीय क्षति कम गर्न निकै सहयोग पुग्ने महिला सचेतना केन्द्र महोत्तरीका अध्यक्ष साधना बर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us