दलहरुबीच विवाद भएपछि किसान आफैंले गोरु जुधाउने

काठमाण्डु टुडे २०७० पुष २६ गते ७:१३ मा प्रकाशित

IMG_2341-copyनुवाकोट, २६ पुस – तारुका गाविसको ऐतिहासिक महत्व बोकेको गोरु जुधाइ मेला यस वर्ष एकै स्थानमा आयोजना गरिने भएको  छ ।

हरेक वर्ष मकर संक्रान्तिको दिन तारुका–५ चन्दनीको बारीको ठूलो पाटोमा हुँदै आएको मेला गत वर्ष राजनीतक दलको विवादका कारण दुई स्थानमा भएको थियो । यस वर्ष किसानहरु आफैँले आयोजक समिति बनाएर एकै स्थानमा पर्व मनाउन लागेका हुन् ।

दुई साता पहिले राजनीतिक दलका प्रतिनिधिको आयोजक समिति गठन भए पनि समितिमा विवाद भएपछि गत हप्ता गोरुधनी किसानका तर्फबाट रेशमलाल श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय मेला आयोजक समिति गठन भएको छ । सांस्कृतिक पर्वलाई राजनीतिक रङबाट जोगाउनका लागि किसान मात्र भएर मेला आयोजना गर्न लागिएको समितिका सचिव राजकुमार श्रेष्ठले बताए ।

माघेसंक्रान्तिमा जुधाउनका लागि तोकिएको बिहीबारसम्मको समय सीमामा १९ हल गोरु दर्ता भएको समितिले जनाएको छ । गोरु जुधाइ मेला स्थानीय भजन, पञ्चेबाजालगायत सांस्कृतिक कार्यक्रमका साथ आयोजना गरिन लागेको समितिका सचिव श्रेष्ठले बताए ।

तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको भन्ने आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार करिब दुई सय वर्ष पुरानो मानिन्छ ।

हिउँदमा फुर्सदको समयमा किसानहरु माघेसङ्क्रान्ति पारेर मीठो मसिनो खाएर गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको थालनी भएको स्थानीयवासी शिक्षक लोचन भट्टराईले बताए ।

पहिले तारुका, बुधसिङ, रातमाटे, दुईपिपललगायत गाविसमा पनि गोरु जुधाइने गरेकामा अन्यन्त्र परम्परा हराइसकेको छ भने तारुकाले व्यवस्थित गरेर परम्परालाई निरन्तरता दिइरहेको छ ।

तारुकामा पछिल्लो १० वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाण्डु, धादिङका गरी हजारौंको संख्यामा दर्शकको सहभागिता हुने गरेको छ ।

यस्तै नेपालको इतिहासमा लेखिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो वेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो पाँच वर्षदेखि वेत्रावतीमा माघेसङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ ।

यस वर्ष पाँच हल गोरुको दर्ता भइसकेको र अन्य गोरुधनी पनि आउने क्रममा रहेको आयोजक समितिका सदस्य सुरज लबटले जानकारी दिए । चारघरे गाविसमा पनि परम्परा जोगाउन एक दुई वर्षअघिदेखि एक दुई हल गोरु जुधाउन थालिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us