यातायात बन्दले जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७० पुष २६ गते ५:२१ मा प्रकाशित

कञ्चनपुर, २६ पुस–कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि सञ्चालन हुने लामो र छोटो दूरीका यातायातका साधनहरू  अनिश्चितकालको लागि बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । यातायातका साधनहरू बन्द हुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । यातायातका साधनहरू सञ्चालन नहुँदा यात्रु पैदल नै गन्तव्यमा जान बाध्य भएका छन् ।

दुई साताअघि कैलालीको टीकापुरका स्थानीयवासीको कर्णाली रिभर यातायात समितिको बसको ठक्करले मृत्यु भएपछि स्थानीय बासिन्दाले रिभरको कार्यालयमा तोडफोड गरेपछि सुरक्षाको प्रत्याभूतिको माग गर्दै यातायात व्यवसायीहरूले यातायात सेवा बन्द गरेका हुन्  ।

सुदूरपश्चिमभरिका यातायात व्यवसायीका १४ वटै समितिले यातायात सेवा बन्द गरेको सेती महाकाली बस तथा मिनी बस व्यवसायी समिति कञ्चनपुरका अध्यक्ष बाबुराम शर्माले बताए । पीडित परिवारले क्षतिपूर्तिबापत १० लाख रुपैयाँ माग्न थालेपछि स्थानीय प्रशासनको रोहवरमा भएका छलफल पनि निस्कर्षमा पुग्न नसक्दा अनिश्चितकालीन यातायात बन्द गरिएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us