
काठमाण्डु, २६ पुस–पाकिस्तानको कराँचीमा भएको बम विष्फोटमा त्यहाँका प्रहरी प्रमुखसहित तीन जना मारिएका छन् । तालिवान विरुद्धको कारवाहीमा सफल प्रहरी अधिकारी मानिने चौधरी असलम खान सहित तीनजनाको विद्युतीय धराप विष्फोटमा मृत्यु भएको हो । चौधरी आतंकवाद नियन्त्रण अभियानका प्रमुख थिए ।
पाकिस्तानको चरमपन्थी संगठन तालिवानले घटनाको जिम्मेवारी लिएको छ । तालिवानको प्रवक्ताले तालिवानी सदस्यहरुको हत्या गर्ने, घाइते बनाउने गरेकोले आफूहरुले बदला लिएको बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले घटनाको निन्दा गरेका छन् । यो आक्रमणलाई कायरतापूर्ण भन्दै शरीफले देशको सपनालाई बर्बाद हुन नदिने बताएको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।
चौधरी खानमाथि पहिले पनि पटक पटक आक्रमण भएका थिए । सन् २०११ मा उनको घर अगाडी रोकिराखेको कारमा बम विष्फोट भएको थियो । सो विष्फोटमा ८ जनाको मृत्यु भएको थियो ।