विवादित शर्मा डिन बनेपछि केसी अनसन बस्ने

काठमाण्डु टुडे २०७० पुष २६ गते ४:०६ मा प्रकाशित

Dr.Gobinda-KCकाठमाण्डु, २६ पुस–त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा नयाँ डिन नियुक्ति विरुद्ध शिक्षण अस्पतालका बरिष्ठ हार्डजोर्नी विशेषज्ञ डा. गोविन्द केसी अनसन बस्ने भएका छन् । विहीबार त्रिवि कार्यकारी परिषदले डा. प्रकाश सायमीको राजीनामा स्वीकृत गरी डा. शशि शर्मालाई आईओएममा डिन नियुक्त गरेको थियो ।

डा. शर्मामाथि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष रहँदा मेडिकल कलेजको पूर्वाधारबारे गलत प्रतिवेदन दिएको र पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । मेडिकल काउन्सिलमा रहँदा केही कलेजको पक्ष लिएर आर्थिक लाभ लिएको डा. शर्मामाथि आरोप छ ।

प्रा. डा. केसी सायमीले राजीनामा दिन नहुने पक्षमा छन् । थप मेडिकल कलेजलाई सम्बन्धनका लागि अनुचित दवाव परेपछि डा. सायमी राजीनामा दिन बाध्य भएको बताइएको छ । नयाँ मेडिकल कलेज सम्बन्धनका लागि नयाँ डिन ल्याइएको उनको ठहर छ । नयाँ सम्वन्धन दिदा संस्था धरासायी हुने दावी उनले गरे ।

‘राजनीतिकरणले स्वतन्त्र रुपमा काम गर्ने वातावरण नबनेकोले एक–दुई दिनमा अनसन शुरु गर्छु,’ डा. केसीले भने । आफ्नो अनशन राजनीतिक दलका एजेण्ट बनेका भ्रष्ट पदाधिकारी र राजनीतिक नेतृत्व विरुद्ध हुने उनले जानकारी दिए । ‘बरु मेरो जान गए जाला तर संस्था डुब्न दिन्नँ,’ डा. केसीले भने ।

डा. केसी अविवाहित छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न भ्रष्टाचार रोक्न माग गर्दै यसअघि पनि केसी लामो समयसम्म अनसन बसेका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारले डा. सायमीलाई डीन नियुक्त गरेपछि केसीले पनि अनसन तोडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us