
जाजरकोट, २६ पुस–जाजरकोटमा रेबिजका कारण वृद्धको मृत्यु भएको छ । तीन महिनाअघि बहुला कुकुरले टोकेका जाजरकोट झाप्रा–२ का ६० वर्षीय शान्तबहादुर थापाको बिहीबार मृत्यु भएको हो ।
रेबिज विरुद्धको खोप गाउँमा नपाएपछि स्थानीय जडीबुटी मात्र गरेका उनको टोकेको तीन महिनापछि मृत्यु भएको स्थानीयवासीको भनाइ छ । त्यतिबेला १० जनाभन्दा बढीलाई बहुला कुकुरले टोकेको थियो ।
केहीले टाढा गएर रेबिजविरुद्धको खोप लगाए पनि केहीले भने घरेलु उपचार मात्र गरेका थिए । झाप्राको त्यस गाउँमा अहिले पनि बहुला कुकुरको बिगबिगी छ । स्थानीय स्वास्थ्य संस्थामा रेबिजविरुद्धको भ्याक्सिन नभएको स्थानीय शेरबहादुर रावतले बताए । रासस