अनाथ बालबालिकाका लागि कोष

काठमाण्डु टुडे २०७० पुष २६ गते २:०२ मा प्रकाशित

स्याङ्जा, २६ पुस–स्याङ्जाको वालिङ नगरपालिका–५ मिर्दीमा स्थापना भएको ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्थाले वालिङ नगरपालिकाभित्र रहेका द्वन्द्वपीडित तथा आमाबाबु गुमाएका अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले छुट्टै कोषको स्थापना गर्ने भएको छ । संस्थाको छैटौं वार्षिक साधारणसभाबाट अनाथ तथा द्वन्द्वपीडित बालबालिकाका लागि पठनपाठनमा सहयोग गर्ने उद्देश्यले छुट्टै कोष स्थापना गर्ने निर्णय गरिएको सहकारी संस्थाका अध्यक्ष मुक्तिप्रसाद पाण्डेले जानकारी दिए ।

सहकारीका प्रबन्धक भीमप्रसाद भण्डारीका अनुसार सहकारीको साधारणसभाले निर्णय गरेअनुसार चालु आर्थिक वर्षबाटै सहकारीले गरेको खुद नाफाबाट पाँच प्रतिशत रकम उक्त द्वन्द्वपीडित तथा अनाथ बालबालिका सहयोग कोषमा जम्मा गरिनेछ । प्रबन्धक भण्डारीले भने, ‘कोषमा जम्मा भएको रकमबाट हरेक वर्ष अनाथ तथा द्वन्द्वपीडित बालबालिकाको शिक्षामा खर्च गरिनेछ ।’

कोषबाट सहकारीको सामाजिक दायित्वअन्तर्गत नगरपालिकाभित्र रही प्राथमिकतहमा अध्ययनरत अनाथ तथा द्वन्द्वपीडित बालबालिकालाई हरेक वर्षको वार्षिक साधारणसभामा सहयोग गर्ने निर्णयसमेत गरिएको अध्यक्ष पाण्डेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us