सभासद् छनोटमा भएको लेनदेनको अनुसन्धान गर्छौं : लोकमानसिंह कार्की

काठमाण्डु टुडे २०७० पुष २५ गते १४:५३ मा प्रकाशित

Lok_Man-Singh-Karkiसप्तरी, २५ पुस– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संविधानसभाको समानुपातिक सभासद् छनोटमा आर्थिक लेनदेनको सूचना प्राप्त भए आयोगले त्यसलाई भ्रष्टाचारकै हिसाबले अनुसन्धान गर्र्नेे बताएका छन् ।

मध्यमाञ्चल र पूर्वाञ्चलको भ्रमणका क्रममा राजविराज पुगेका प्रमुख कार्कीले समानुपातिक सभासद् छनोटमा आर्थिक लेनदेनको सूचना पाउनासाथ आयोगले अनुसन्धान अघि बढाउने बताए ।

स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा आयोगबाट खटिएको टोलीले विगत १५ दिनदेखि सप्तरीसहितका जिल्लामा अनुगमन र अनुसन्धान जारी राखेको भन्दै कार्कीले केही बिचोलिया र पहुँचवालाले जनताका नाममा आएका रकम दुरुपयोग गरेको प्रारम्भिक रुपमा पाइएको जानकारी दिए ।

सरकारले विनियोजन गरेको रकम सदुपयोग भएको वा दुरुपयोग भएको र सरकारी निकायबाट प्राप्त हुने सेवा सुविधा जनताले कसरी प्राप्त गरिरहेको भन्ने बारेमा अध्ययन गर्न आफूसहितको टोली भ्रमण आएको भन्दै कार्कीले जनताको नाममा आएका पैसा खर्च हुनुपर्ने बताए । उनले नक्कली कागज तयार गरेर रकम दुरुपयोग गर्ने जोसुकैलाई पनि कारबाही गर्ने चेतावनी दिए ।

मुलुकमा सुशासन कायम गर्ने, मुलुकलाई अनिर्णयबाट निकास दिने र भ्रष्टाचारलाई शुन्य सहनशीलतामा झार्दै सुशासन र कानुनी राज्य कायम गर्ने लक्ष्य आयोगको रहेकाले त्यसलाई मुर्तरुप दिन आयोगले विभिन्न क्षेत्र र जिल्लामा क्षेत्रीय तथा सम्पर्क कार्यालयहरू स्थापना गर्न लागेको उनले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us