जनक शिक्षामा कर्मचारीको धर्ना

काठमाण्डु टुडे २०७० पुष २५ गते १३:०८ मा प्रकाशित

janaksikshya_1329370459भक्तपुर, २५ पुस – किताब छाप्ने चटारो परेको जनक शिक्षाका कर्मचारी व्यवस्थापनविरुद्ध आन्दोलन गर्दै विहीबारदेखि धर्नामा उत्रिएका छन् ।

नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन केन्द्रीय समितिको संयोजनमा जनक शिक्षाका कर्मचारी मुख्यद्धारमै धर्नामा बस्दा जनक शिक्षामा दुई घण्टा कामसम्म ठप्प भएको छ ।

गत मंसिर २६ गते निष्कासनमा परेका केन्द्रका पाँच कर्मचारीलाई पुनःवहाली गर्नुपर्ने र जनक शिक्षा व्यवस्थापन समितिले नेपाल स्वतन्त्र प्रेस युनियनसँग गरेको १७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गर्दै कर्मचारी धर्नामा बसेका छन् ।

युनियन जनक शिक्षाका अध्यक्ष मन खड्काले यसअघि केन्द्रभित्र कालोपट्टि बाधेर धर्नामा बस्दा व्यवस्थापनले बेवास्ता गरेपछि धर्नामा बसेको बताए । बिहान १० बजेदेखि १२ बजेसम्म करारमा रहेका कर्मचारीले धर्नामा बसेर केन्द्रका विभागीय प्रमुख एवम् कर्मचारीलाई केन्द्रमा प्रवेश निषेध गरेपछि पुस्तक छपाई लगायतका कार्यहरु समेत रोकिएको केन्द्रले जनाएको छ ।

युनियनका केन्द्रीय अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, जिफन्टका केन्द्रीय वरिष्ठ उपाध्यक्ष, एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठ र युवा सङ्घका अध्यक्ष महेश बस्नेत, एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बच्चन देउजालगायतले समेत धर्नामा बसेर एक्येबद्धता जनाएका थिए ।

केन्द्रले गत मङ्सिर २४ गते केन्द्रका करार कर्मचारी एवम् युनियनका अध्यक्ष सुमन खड्का, संस्थापक अध्यक्ष राजेश बानिया, सचिव प्रकाश थापामगर, उपाध्यक्ष कञ्चन सिपापति र सदस्य प्रकाश दर्जीलाई विना सूचना हाजिरै गर्न नदिई निष्कासन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us