बैठक राष्ट्रपतिले नै बोलाउनुपर्छ : वर्षमान पुन

काठमाण्डु टुडे २०७० पुष २५ गते ९:५३ मा प्रकाशित

barsaman-punकाठामडौं, २५ पुस– एमाओवादी नेता वर्षमान पुनले संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले नै बोलाउनु पर्ने बताएका छन् ।

रिपोटर्स क्लबमा भएको कार्यक्रममा पुनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई बैठक बोलाउन रोक नलगाएको भन्दै संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाएर छिटो सरकार गठन गर्नुपर्ने बताए ।

‘अदालतमा मुद्दा परेपनि राष्ट्रपति विरुद्ध अन्तरिम आदेश जारी नभएकाले संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउने विषयमा एमाओावादीलाई कुनै आपत्ति छैन ।’ पुनले भने, ‘संविधानसभाको पहिलो बैठक राष्ट्रतिले बोलाएर एक वर्षभित्र संविधान जारी गर्ने अवस्थाको सिर्जना गर्नुपर्छ ।’

उनले पहिलो बैठक कसले बोलाउने भन्ने विषयमा विवाद गर्नुपर्ने कुनै कारण नभएको तर्क गर्दै कांग्रेस–एमालेबीचको जुँगाको लडाईंले विवाद भएको बताए ।

अन्र्तराष्ट्रिय प्रचलन पनि राष्ट्र प्रमुखले नै बैठक बोलाउने रहेको भन्दै पुनले एमाओवादी पहिलो संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलानुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे ।

निर्वाचन परिणाम घोषणा भएको २१ दिनभित्र संविानसभाको पहिलो बैठक बोलाउनुपर्ने कानुनी व्यवस्था भएपनि २१ दिन पुरा हुन लाग्दासमेत बैठक कसले बोलाउने भन्ने टुंगो नलाग्नु दुर्भाग्यपुर्ण भएको पुनको भनाइ थियो ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने भन्दै नेता पुनले एमाओवादी प्रतिपक्षमा बसेर संविधान निर्माणमा सहयोग गर्न तयार रहेको बताए । संविधान जारी नभएसम्म राष्ट्रपति र उपराष्ट्रपति परिवर्तनको पक्षमा एमाओवादी नरहेको पुनले स्पष्ट पारे ।

कार्यक्रममा एमाले नेता  प्रकाश ज्वालाले संविधानमा व्यवस्था भएअनुसार संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नै बोलाउनुपर्ने बताए ।

उनले अहिले बैठक कसले बोलाउने भन्ने विषयमा विवाद आवश्यक नभएको भन्दै छिटो बैठक बोलाएर एक वर्षभित्र संविधान जारी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us