प्रचण्डले भने–‘भाँडभैलो मच्चाउनेहरु कम्युनिष्ट होइनन्’

काठमाण्डु टुडे २०७० पुष २५ गते १२:३५ मा प्रकाशित

Prachandaकाठमाण्डु, २५ पुस – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाँडभैलो मच्चाउनेहरु कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा विहीबार पूराना कम्युनिष्ट नेता जयगोविन्द शाहको २४ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रचण्डले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नु पर्ने बेला आएको बताए ।

‘कम्युनिष्ट भए गम्भीर समिक्षा गरेर रुपान्तरणसहित अघि बढ्नुपर्छ, प्रचण्डले भने, ‘होइन भने भाँडभैलो गरेर हिंड्ने अवसर पनि छ ।’

बैचारिक बहस र छलफल कम्युनिष्ट पार्टीमा चलिरहने भन्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने चुनौति आफूहरु सामु रहेको बताए ।

पार्टी अहिले एक किसिमको मोडमा उभिएको भन्दै उनले विगतका कमजोरीबाट शिक्षा लिँदै अर्काे मोर्चा जित्ने तयारीमा लाग्नु पर्नेमा जोड दिए ।

‘लडाईंमा हारेको सेनाले कमजोरीबाट पाठ सिकेर अर्काे मोर्चा जित्नसक्छ, उनले भने, ‘एक अर्कालाई विरोध र आक्रमण गरेर चोखो हुने प्रवृत्ति ठिक होइन ।’ अब गम्भीर आत्मसमीक्षा गरेर आफ्नो हैसियत अनुसारको जिम्मेवारी लिनुपर्ने प्रचण्डाको भनाई छ ।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले पार्टी गम्भीर आत्मसमीक्षाको मोडमा रहको बताए । केही उतारचढाव देखिएपनि नेपाली क्रान्तिलाई अघि बढाउन सम्भव रहेको भन्दै उनले सुझबुझपूर्ण निर्णय गरेर अघि बढ्नु पर्ने बताए ।

रुपान्तरणसहित पार्टीलाई एकतावद्ध गर्दै अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us