उपत्यकामा ४० किलोमिटर सडक पुनर्निर्माण

काठमाण्डु टुडे २०७० पुष २५ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, २५ पुस – सडक विभागले काठमाण्डु उपत्यकामा हालसम्म ४० किलोमिटर सडकखण्डको पुनर्निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सडक विभागअन्तर्गत ८८ वटा सडकमा १०५ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म ४० किमि पूरा भएको, यसै आवभित्र थप ५२ किमि पूरा गरिने र बाँकी रहेको १८ किमि आव २०७१/७२ मा पूरा गर्ने लक्ष्य लिइएको बताए ।
सडक विभागअन्तर्गत काठमाण्डु उपत्यका सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय काठमाण्डु, डिभिजन सडक कार्यालय ललितपुर,  डिभिजन सडक कार्यालय भक्तपुर गरी चारवटा निकाय उपत्यकाको सडक विस्तार अभियानमा संलग्न छन् ।

डिभिजन सडक कार्यालय काठमाण्डुअन्तर्गत ४४ वटा सडकमा ३७ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म १३ किमि पूरा भएको र यसै आवभित्र १९ किमि पूरा गरिने लक्ष्य लिइएको छ । काठमाण्डु उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत ११ वटा सडकमा ३२ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म १६ किमि पूरा भएको र यसै आवभित्र १५ किमि पूरा गरिने लक्ष्य लिइएको छ ।

डिभिजन सडक कार्यालय ललितपुरअन्तर्गत १९ वटा सडकमा २१ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म नौ किमि पूरा भएको र यसै आवभित्र १२ किमि पूरा गरिने लक्ष्य लिइएको छ । बाँकी रहेको सात किमि आव २०७१/७२ मा पूरा गर्ने लक्ष्य छ ।

डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत छवटा सडकमा नौ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म दुई किमि पूरा भएको र यसै आवभित्र बाँकी रहेको सात किमि पूरा गरिने लक्ष्य लिइएको छ ।

दुई वर्षअघिदेखि काठमाण्डु उपत्यकामा सुरु गरिएको सडक पुनर्निर्माण अभियानअन्तर्गत विभिन्न स्थानमा सडक चौडा गरिनाको साथै सडकको क्षमता विस्तारसमेत गरिएको छ ।

सडक विस्तारको प्रगति र प्रभावकारिता अनुगमनका लागि प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिले स्थलगत निरीक्षण गरिरहेको छ ।

सडक विस्तारका क्रममा गएको दुई वर्षमा करिब तीन अर्ब खर्च भइसकेको र यस आवका लागि एक अर्ब ७१ करोड बजेट विनियोजन गरिएकामा रु एक अर्ब ३३ करोड अपुग हुने जनाइएको छ ।

सडक विभागबाहेक काठमाण्डु महानगरपालिका, ललितपुर उपमहानगरपालिका, कीर्तिपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिकाले छुट्टै आफ्नोतर्फबाट सडक विस्तार निर्माण कार्य जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us